बाँके\गत केही समययता बाँके जिल्लामा अत्यधिक गर्मीका कारण सर्पदंशका घटनाहरू पनि उल्लेख्य सङ्ख्यामा बढेका छन्।
गर्मीका कारण दुलो भित्रका सर्पहरू बाहिर निस्कन थालेकोले सर्वसाधारणलाई टोक्ने घटना बढेकोले यहाँस्थित भेरी अस्पताल, राँझास्थित सर्पदंश उपचार केन्द्र र शम्शेरगञ्जस्थित सर्पदंश उपचार केन्द्रमा पछिल्लो समय सर्पदंशको उपचारका लागि आउने बिरामी बढेका हुन् ।
भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट एनिस्थेसोलोजिस्ट डाक्टर कृष्णप्रसाद आचार्यले अत्यधिक गर्मीका कारण सर्पदंशका बिरामी अस्पताल आउने क्रम बढ्दै गएको बताए । उनका अनुसार वैशाखको अन्तिमदेखि सर्पदंशका बिरामी अस्पताल आउन थालेको जनाउँदै जेठमा सो सङ्ख्या बढेको बताए । डा. आचार्यका अनुसार वैशाख यताको अवधिमा पाँच जनाभन्दा बढी गम्भीर प्रकृतिका सर्पदंशका बिरामीलाई उपचार गरी घर पठाइएको छ । गर्मी बढ्दै गर्दा विशेष गरी करेट र कोब्राले डसेर विष लागेका बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् ।
आठ वर्षदेखि सर्पदंशको क्षेत्रमा काम गर्दै आउनुभएका डाक्टर आचार्यले नेपालभरि नै सर्पदंशबाट कसरी बच्ने र सर्पदंश भइसकेको अवस्थामा उपचार कसरी गर्ने भनेर विभिन्न ठाउँमा स्वास्थ्यकर्मीलाई तालिम दिने गरेको उल्लेख गरेका छन।यसैगरी बाँकेको राँझास्थित सर्पदंश उपचार केन्द्रका स्वास्थ्य प्राविधिक राजन कुँवरले जेठमा मात्रै तीन जना सर्पदंशका बिरामी उपचारका लागि आएको बताए ।
उनले विष लागेका दुई जनालाई थप उपचारका लागि नेपालगञ्जको भेरी अस्पतालमा पठाइएको जानकारी गराएका छन । स्वास्थ्य प्राविधिक कुँवरका अनुसार भेरी अस्पताल पठाइएकामा नेपालगञ्ज–१९ मोहनपुरका मुनसिङ सार्की र डुडुवा गाउँपालिका–५ नानपुरकी सरिता लामिछाने मगर छन् । उनले गत वर्ष १० जना सर्पदंशका बिरामी उपचारका लागि केन्द्रमा आएको जनाउँदै यस वर्ष सो सङ्ख्या बढ्ने देखिएको उल्लेख गरेका छन।
त्यस्तै, बाँकेको शम्शेरगञ्जस्थित सर्पदंश उपचार केन्द्रका अहेव नन्दलाल पाण्डेले जेठमा तीन जना सर्पदंशका बिरामी उपचारका लागि यहाँ आएको जानकारी गराए । उनले अनुसार अघिल्लो वर्ष वैशाखदेखि भदौसम्ममा ३५ जना सर्पदंशका बिरामी उपचारका लागि आएका थिए । गर्मीयाममा सर्पदंशका धेरै बिरामी उपचारका लागि आउने हुँदा यो वर्ष झन् बढ्ने अनुमान गरिएको छ ।राँझा र शम्शेरगञ्जमा विषरहित बिरामीको उपचार गरिन्छ भने विष लागेका बिरामीलाई भेरी अस्पताल पठाउने गरिएको छ ।