१२ जेष्ठ २०८३, मंगलवार

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर र बालकृष्णसहित १६ जना जेल चलान
  • न्युज मानसराेवर

काठमाडौँ\नक्कली शरणार्थी प्रकरणमा मुछिएर पक्राउ परेका १६ जनालाई जेल चलान गर्न अदालतले आदेश दिएको छ। पक्राउ परेका १८ जना अभियुक्तमध्ये दुईजना मात्रै धरौटीमा रिहा भएका हुन्।  काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले लक्ष्मी महर्जन र टंक गुरुङबाहेक अरु सबैलाई थुनामा पठाउने आदेश दिएको हो।

यो घटनामा मुछिएका होटल व्यवसायी टंक गुरुङ १० लाख र ललितपुरकी लक्ष्मी महर्जन भने ५ लाख धरौटीमा रिहा हुने भएका छन्।  अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १६ जनालाई जेल चलान गर्न आदेश दिएको हो।

तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज कमिटीका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी र टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पनि जेल चलान हुने भएका छन्।

बिचौलियका रुपमा चिनिएका केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, गोविन्द चौधरी र रामशरण केसी पनि जेल चलान हुने भएका हुन्।  यो प्रकरणमा मुछिएर पूर्व गृहमन्त्री बादलका छोरा प्रतीक र सुरक्षा सल्लाहकार इन्द्रजितका छोरा निरज फरार छन्। उनीहरूविरुद्ध पक्राउ पूर्जी पनि जारी भइसकेको छ।

यस्तै केशव तुलाधार, अशोक पोख्रेल, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनिल बुढाथोकी, विनिता लिम्बू, निरञ्जन कुमार खरेल, राजेश अर्याल र आशीष बुढाथोकी पनि फरार सूचीमा छन्। पक्राउ परेकाहरूलाई ठगी, किर्ते, राज्यविरुद्धको अपराध र सङ्गठित अपराधसहितमा गत जेठ १० गते मुद्दा दर्ता गरिएको थियो। जिल्ला अदालत काठमाडौंमा २२४ पृष्ठको अभियोगपत्र दायर गरिएको थियो।

  • १ असार २०८०, शुक्रबार प्रकाशित

  • Nabintech