११ बैशाख २०८२, बिहीबार

मंकीपक्सको परीक्षण र उपचारमा अलमल किन सरकार
  • न्युज मानसराेवर

विश्वमा फैलिएको मंकीपक्सको संक्रमण नेपालमा पनि पहिलोपटक एक विदेशी महिलामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छ । नयाँ रोगका बारेमा आफ्ना नागरिकलाई सूचना दिनु सरकारको दायित्व पनि हो ।

६० वर्षीया ती विदेशी महिलामा पुष्टि भएको मंकीपक्सको परीक्षण कहाँ गरियो, सर्वसाधारणले यो रोग हो या होइन पत्ता लगाउन सहजै जाने निकाय कहाँ तय गरिएको छ भन्ने बारेमा सरकारले स्पष्ट पार्नुपर्छ । मंकीपक्स पुष्टि भएकी विदेशी नागरिक कुन देशकी हुन् ? भर्खर नेपाल प्रवेश गरेकी हुन् वा पहिलेदेखि नै नेपालमा बस्दै आएकी थिइन्?उनलाई कहाँ राखेर कसरी उपचार गरिँदै छ र उनको अवस्था के छ ? यावत् प्रश्नको उत्तर आउने गरी सूचना सार्वजनिक गर्नुपर्छ । सरकारको काम सूचना दिएर नागरिकलाई त्रसित बनाउने हैन, समाधानको बाटो खुल्ला गर्ने र जनचेतना जगाउने हो ।

गतवर्ष ७५ देशका १६ हजार जनामा यो भाइरस पुष्टि भएपछि विश्व स्वास्थ संगठनले ‘विश्वव्यापी जनस्वास्थ्य आपतकाल’ घोषणा गरेको थियो । यसै क्रममा अमेरिका, क्यानडा, अस्ट्रेलिया, इजरायल, बेलायत, जर्मनी, स्वीट्जरल्यान्ड, स्पेन, पोर्चुगल, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटली, स्वीडेनलगायतका देशमा मंकीपक्सको संक्रमण फैलिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पुष्टि गरेको छ । तर अहिलेसम्म कुनै पनि नेपालीमा मंकीपक्स पुष्टि भएको छैन । यसो भन्दैमा कसैलाई पनि यो रोग लागेकै छैन भन्न सक्ने अवस्था छैन । सरकारले कहाँ परीक्षण हुन्छ र कस्तो उपचार गर्ने भन्ने आधिकारिक स्थान अहिलेसम्म तोकेकै छैन भने कसरी रोग लागेको पुष्टि हुन्छ ?

मंकीपक्स संक्रमण भएका व्यक्तिमा शरीर चिलाउने, खटिरा वा दाग देखिने र गुप्तांगमा बढी संक्रमण हुने र जीउभरि फैलिने, ज्वरो आउने, जीउ सुन्निने, ढाड, टाउको र मांसपेशी दुख्नेगर्छ । संक्रमण भएको केही दिनमा अनुहारमा पनि बिमिराहरू देखापर्न थाल्छन् ।

मंकीपक्स झट्ट हेर्दा फोहोर खटिरा वा ठेउलाजस्तै देखिने पानी भरिएको फोका हुन्छ । योएकबाट अर्को व्यक्तिमा घाउको रस वा कणबाट र हाच्छिउँ गर्दा निस्कने थुकलगायतका तरल पदार्थका माध्यमबाट सर्छ । संक्रमित व्यक्तिको शरीरबाट निस्कने तरल पदार्थ श्वासनली, आँखा, मुख वा नाकबाट छिर्नसक्छ । यसका साथै संक्रमित जनावरहरू जस्तै– बाँदर वा मुसाको सम्पर्कबाट पनि यो भाइरस सर्न सक्छ । संक्रमितले प्रयोग गरेका लुगा वा सामानबाट पनि सर्नसक्छ । त्यस्तै रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा सर्न सक्छ ।

यस्तो रोग फैलने मुख्य माध्यम एक ठाउँबाट अर्को ठाउँको यात्रा नै हो । मंकीपक्स चिकेनपक्ससँग मिल्दोजुल्दो भएकाले झुक्किनसक्ने सम्भावना पनि उत्तिकै छ ।यो रोग २१ दिनपछि बिस्तारै निको हुँदै जाने हुनाले मानिसले झट्ट बाहिर ल्याउँदैनन् ।

लाज, समाजले हेर्ने दृष्टिकोण अनि राज्यले परीक्षणगर्ने स्थान नतोकेकोले सचेत र पहुँच भएका व्यक्ति छाला तथा यौनरोग विशेषज्ञकोमा पुगेर उपचार गराउने सम्भावना बढी रहेको स्वास्थ्य विज्ञहरुको ठम्याइ छ । विदेशी नागरिक भएकाले मात्र रोगको पहिचानका लागि अहिले आफैँ परीक्षणको दायरामा पुगेकी हुन् । आम नेपालीले त्यसरी खोजेर उपचारको पहुँचमा पुग्ने सम्भावना छैन । सरकारले यतातर्फ ध्यान दिई जनचेतना फैलाउँदै उपचार केन्द्रहरु सहज र सर्वसुलभ बनाओस् ।

  • ९ असार २०८०, शनिबार प्रकाशित

  • Nabintech