कोहलपुर\ कोहलपुर नगरपालिकाले भूमि आयोगसँगको समन्वयमा नगरभित्रका अव्यवस्थित जग्गा नापजाँच कार्य सुचारु गरेको छ । वर्षौँदेखि लालपुर्जाविहीन अवस्थामा बसोबास गरिरहेका नागरिकलाई लक्षित गरेर जग्गा नापजाँच शुरु गरिएको हो ।
नगरपालिकाका अनुसार अहिले कोहलपुर नगरपालिका वडा नम्बर ५ र ८,५ मा नापजाँच सुरु भएको छ भने २, १० र १२ मा नापजाँच सकिएको छ । कोहलपुर नगरपालिका राष्ट्रिय भूमि आयोग संकलन ईकाइ प्रमुख वीरबहादुर विकले वडा नम्बर ८ मा नगर प्रमुख उपप्रमुखसहितको उपस्थितिमा हिजोबाट जग्गा नापजाँच शुरु भएको बताए ।
उनले अहिलेसम्म तीनवटा वडामा नापजाँच सकिएको छ । चालु आर्थिक वर्षमा सक्ने लक्ष्य थियो तर लक्ष्य पूरा भएन । अर्को आर्थिक वर्षमा जग्गा नापजाँच सम्पन्न हुने र त्यस लगत्तै वडा नम्बर ३, ४ र ६ मा नापजाँच सुरु हुने बताए । त्यसपछि क्रमशः बाँकी वडाहरुमा आयोगले जग्गा नापचाँजको काम सुरु गर्नेछ ।
कोहलपुरमा १६ हजार पाँच सयजना भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरुको फाराम संकलन गरिएको र्ईकाइ कार्यालयले जनाएको छ ।











