१२ जेष्ठ २०८३, मंगलवार

उपलब्ध गरायो बैजनाथले किसानलाई ५० प्रतिशत अनुदानमा कृषि यान्त्रीकरण
  • न्युज मानसराेवर

बाँके\बाँकेको बैजनाथ गाउँपालिकाले उत्पादन वृद्धिसँगै व्यावसायिक कृषिमा प्रोत्साहन गर्ने उद्देश्यले पालिकाभित्रका किसानलाई ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण गरेको छ ।

गाउँपालिकाभित्रका ४२ जना किसानलाई छनोट गरेर अत्याधुनिक मिनी ट्रेलर र पावर ट्रेलर वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले कृषि उत्पादन बढाई कृषिलाई व्यावसायिक बनाउन ३१ जना किसानलाई मिनि ट्रेलर र ११ जना किसानलाई पावर ट्रेलर वितरण गरिएको जानकारी गराएका छन।

उनले अनुदान पाउनका लागि निवेदन दर्ता गराएका किसानको घर–घरमा पुगेर अनुगमन गरी ५० प्रतिशत अनुदान पाउने किसान छनोट गरेर उनीहरुलाई यन्त्र उपलब्ध गराइएको उल्लेख गरे ।

सो अवसरमा अनुदान पाउनुभएका किसानले यो सहयोगबाट कृषिलाई व्यावसायिक बनाउन ठूलो सहयोग पुग्ने जनाउँदै यसले उत्पादन पनि वृद्धि हुने विश्वास गरिएको छ । बैजनाथ –४ का किसान रमेश थारुले मिनी ट्रेलर पाएपछि अब खेती गर्न निकै सहज र सरल हुनुका साथै कम समयमा बढी उत्पादन हुने विश्वास गरेका छन। । उनले आधुनिक कृषियन्त्रको सहाराले कृषिमा ठूलो परिवर्तन आउने समेत बताए ।

सोही प्रकारले वडा –४ का अध्यक्ष प्रेमबहादुर शाहीले छनोटमा परेका अधिकांश किसानले कृषिलाई व्यावसायीकरण गर्ने जनाएकाले आधुनिक उपकरणले सो कामलाई सहज बनाउने बताएका छन।

  • १९ असार २०८०, मंगलवार प्रकाशित

  • Nabintech