बाँके\जताततै सडक बजारमा खुला छाडिएका घोडा खच्चडका कारण फोहर बढ्नुका साथै यातायातका साधन सञ्चालनमा समस्या भएको भन्दै नेपालगञ्ज उपमहानगरपालिकाले व्यवस्थापन अभियान सुरु गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले छाडा छाडिएका घोडा खच्चडलगायतका पशुचौपाया तीन दिनभित्र सडकबाट हटाई व्यवस्थापन गर्न पशुधनीहरुलाई निर्देशन दिएका हुन।
नगरप्रमुख विष्टले छाडा पशुचौपाया व्यवस्थापन र नियन्त्रण गर्ने अभियान अन्तर्गत नेपालगन्जमा परम्परागत रुपमा घोडा र खच्चड पाल्ने कसगर समुदायसँग सामुहिक छलफल गरेर छाडा पशुचौपाया तत्काल व्यवस्थापन गर्न निर्देशन दिएका छन।
छलफलमा सहभागी पशुधनी कसगरहरुले आफ्ना पशुचौपाया छाडा नछाड्ने सामुहिक प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा एनिमल नेपालका पशु चिकित्सक अतिसकुमार यादवले छाडा पशुचौपायाका कारण सहरको सुन्दरतामा प्रभाव पर्नुका साथै दुर्घटनाहरु समेत बढेको बताएका छन।
नेपालगन्ज उपमहानगरका उपप्रमुख कमरुद्दीन राइले छाडा पशु चौपायाको समस्या नेपालगन्जका लागि ठूलो चुनौती बन्दैआएकाले यो समस्याको दिगो समाधानको पहल समेत सुरु गरिसकिएको बताए । नेपालगन्जमा करिब २ सय बढी कसगर र अन्यले घोडा–खच्चड पाल्नेगरेको बताइएको छ ।