१२ जेष्ठ २०८३, मंगलवार

अत्याधुनिक बसपार्क कोहलपुरमा मुख्यमन्त्री चौधरीले गरे उद्घाटन
  • न्युज मानसराेवर

कोहलपुर \कोहलपुरमा पश्चिम नेपालकै सुविधा सम्पन्न लामोदूरीका बसपार्कको आज उद्घाटन गरिएको छ । आज एक समारोहकाबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले बसपार्कको उद्घाटन गरेका हुन।

बाँकेको कोहलपुर नगरपालिकाको चौराहाको पूर्वमा निर्माण भएको लामोदूरीको अत्याधुनिक बसपार्कको आज उद्घाटन गर्दै उहाँले ग्रामीण क्षेत्रको विकासपछि मात्र सन्तुलित विकास हुनेमा जोड दिएका छन।  उनले   कोहलपुरमा बनेको अत्याधुनिक बसपार्कले लुम्बिनी प्रदेशमै बेग्लै पहिचान बन्ने र विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन।  मुख्यमन्त्री चौधरीले विकास र समृद्धिका लागि सबै एकजुट हुनु समयको माग रहेको बताए ।

३० करोड ६२ लाख ७ हजार ७०१ कुल लागतमा निर्माण गरीएको उक्त बसपार्क उद्घाटन भएसँगै साउनदेखी संचालनमा आउने कोहलपुर नगरपालिकाले जनाएको छ । बसपार्क निर्माणकालागि नगर विकास कोषले ६० प्रतिशत ऋण लगानी गरेको छ भने ४० प्रतिशत कोहलपुर नगरपालिका आफैँले लगानी गरेको छ । नगर विकास कोषलाई वार्षिक आठ प्रतिशत ब्याज रकम तिर्नेगरी २० वर्षका लागि कोषसँग ऋण सम्झौता गरिएको छ ।

२० वटा लामो दुरीका बस, २२ वटा मध्यम दुरीका सवारी साधन तथा गाडी र अटो सहित ७९ वटा छोटो दुरीका सवारी साधन अट्ने क्षमता रहेको बसपार्कमा ५९ वटा ब्यवसायीक सटर, तिन वटा ब्लकमा २७ वटा शौचालय (३ वटा अपाङ्गमैत्री), २४ वटा टिकट काउण्टर, ग्यारेज सहित २ वटा विद्युतिय चार्जिङ सेन्टर, प्रहरी शुरक्षा कक्ष, स्तनपान कक्ष र धुम्रपान कक्ष निर्माण गरीएको छ ।

पश्चिम नेपालकै सुविधा सम्पन्न भनिएको लामोदूरीको बसपार्कको समग्र व्यवस्थापनको जिम्मा बागेश्वरी यातायात व्यवसायी प्रालि कोहलपुरले लिएको छ । बागेश्वरी यातायात प्रालिले बसपार्क व्यवस्थापनसँगै प्रवेश, टिकट काउन्टर, शौचालय मर्मत सम्भार, ब्लक र पार्किङको व्यवस्थापनको जिम्मा लिएको छ । प्रालिले तीन वर्षसम्म बसपार्क व्यवस्थापन गर्न वार्षिक ७१ लाख ७७ हजार सात सय ७७ रुपैयाँ तिर्ने गरि ठेक्का लिएको हो ।

बसपार्कमा बस पार्किङ, टिकट काउन्टर सपिङ कम्प्लेक्स लगायतका संरचना छन् । बसपार्कमा तीनवटा प्लेटफर्म रहेको र बसपार्कभित्रै व्यावसायिक सटरसँगै, स्वास्थ्य चौकी, बैंक तथा सुरक्षा निकाय पनि रहने व्यवस्था मिलाईएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले जानकारी दिए ।

बसपार्क उद्घाटन भएपनि बसपार्कको संरचनासँगै निर्माण गरीएको ४ तले टर्मिनल भवनको भने ठेक्का लाग्न सकेको छैन । टर्मिनल भवन ठेक्काका लागी पाँचौ पटक बोलपत्र आह्वान गरिएको र टेण्डर आह्वान गर्ने समय अझै बाँकी रहेको ढकालले बताए ।

  • २४ असार २०८०, आईतवार प्रकाशित

  • Nabintech