काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ। ६९ वर्षीया दाहालको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको हो।
दाहाल लामो समयदेखि पार्किन्सनजस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी’ (पीएसपी) बाट पीडित थिइन्। यस्तै उनलाई रक्तचाप र मधुमेहको पनि समस्या थियो। स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई बुधबार बिहान नर्भिक अस्पताल लगिएको थियो। अस्पतालले बिहान ८ः ३३ मा मृत्यु भएको पुष्टि गरेको छ।
माओवादी केन्द्रीय सल्लाहकार रहेकी दाहाललाई यसअघि अमेरिका, भारत र सिंगापुरमा लगेर उपचार गरिएको थियो। सीतालाई छोरा प्रकाशको निधनपछि गहिरो चोट परेको थियो। त्यसपछि उनी शिथिल बन्दै गएकी थिइन्। सोही क्रममा रोगले च्याप्दै लगेको थियो।
सीताको पार्थिव शरीर श्रध्दाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने र २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।