१२ जेष्ठ २०८३, मंगलवार

आर्थिक वर्ष ०७९/०८० मा बाँकेमा ४२ वन्यजन्तुको उद्धार
  • न्युज मानसराेवर

बाँके\आर्थिक वर्ष ०७९/०८० मा बाँकेमा विभिन्न प्रजातिका ४२ वटा वन्यजन्तुको उद्धार गरिएको छ । डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी सहायक डिभिजनल वन अधिकृत गणेश खड्काले घाइते, टुहुरा, बाटो बिराइ गाउँ बस्तीमा प्रवेश गरेका तथा सङ्कटमा परेका विभिन्न प्रजातिका ४२ वटा वन्यजन्तुको उद्धार गरिएको जानकारी दिए । खड्काका अनुसार अधिकांश वन्यजन्तु जीवितै उद्धार गरिएको छ भने केही मृत अवस्थामा उद्धार गरिएको हो ।

सूचना अधिकारी खड्काले जिल्लाका विभिन्न स्थानबाट अजिङ्गर, रशियल भाइपर, रेड स्यान्ड बो, मगर गोही, गोमन सर्प, चितुवाको बच्चा, रातो आसामी बाँदर, सुनगोहोरो, निल गाइको बच्चा, हुचिल, धामन सर्प, बँदेल, चित्तलको बच्चा, मृत चितुवा, मृत बाघ लगायतका वन्यजन्तुको उद्धार गरिएको जानकारी दिए ।

उनका अनुसार १० वटा अजिङ्गर, रशियल भाइपर दुई वटा, रेड स्यान्ड बो दुई वटा, मगर गोही चार वटा, गोमन सर्प १२ वटा, चितुवाको बच्चा एक वटा, रातो आसामी बाँदर एक वटा, सुन गोहोरो एक वटा, करेत सर्प एक वटा, निल गाइको बच्चा एक वटा, हुचिल (वान उल) एक वटा, धामन सर्प एक वटा, बँदेल एक वटा (मृत), चितुवा एक वटा (मृत), सालक एक वटा, बाघ एक वटा (मृत) र चित्तलको बच्चा एक वटा उद्धार गरिएको हो ।

जीवितै उद्धार गरिएका वन्यजन्तुहरूलाई बाँकेका विभिन्न सामुदायिक वनहरूमा पुनर्स्थापना गरिएको उनले बताए । केही वन्यजन्तुलाई बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको तथा मृत उद्धार गरिएका वन्यजन्तुहरूलाई खाल्डो खनेर गाडिएको खड्काले बताए ।

घाइते वन्यजन्तुहरूलाई डिभिजन वन कार्यालयमा राखेर औषधि उपचार पश्चात् पूर्ण रूपमा निको भएपछि मात्र जङ्गलमा पुनर्स्थापना गरिएको उनले जानकारी दिए ।

जङ्गलमा आहाराको मात्रा कम हुनु, मानिसहरूको बढी चहलपहल हुनु, बाटो बिराएर मानव बस्तीमा प्रवेश गर्नु जस्ता विभिन्न कारणले गर्दा वन्यजन्तुहरू आफ्नो वासस्थानबाट बाहिर निस्किएर अलपत्र परेका त्यसता वन्यजन्तुहरूलाई उद्धार गरिँदै आएको खड्काको भनाइ छ । आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न प्रजातिका ३१ वटा वन्यजन्तुहरूको उद्धार गरिएको डिभिजन वन कार्यालय बाँकेको अभिलेख रहेको छ ।

  • २ श्रावण २०८०, मंगलवार प्रकाशित

  • Nabintech