बाँके\ लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैतेय (अवधेशकुमार त्रिपाठी) को पदावधि साउन १० गतेबाट सकिएको छ। उनको यो दोस्रो कार्यकाल पूरा भएको हो ।पहिलो कार्यकाल कांग्रेस सभापति शेरबहादुर देउवा तत्कालीन प्रधानमन्त्री हुँदा २०७४ साल मंसिर १४ गते र एमाले अध्यक्ष केपी शर्मा ओली तत्कालीन प्रधानमन्त्री हुँदा २०७५ साउन १० गते रवीन्द्र अधिकारी पर्यटन मन्त्रीको प्रस्तावमा दोस्रो कार्यकालका लागि उपाध्यक्षमा नियुक्ति भएका थिए।
पहिलो पटक आधा समय र दोस्रो पटक पूरा समय कार्यकाल सकाएका त्रिपाठी स्थानीय, बौद्ध दर्शनको अनुभवी तथा अंग्रेजी भाषाको राम्रो ज्ञान भएकाले दातृ निकायको रोजाइमा छन् । दुई कार्यकाल पूरा गरेका त्रिपाठीले उपाध्यक्ष हुँदा सेवा सुविधासमेत नलिएकाले पनि धेरैको मन जितेका छन् ।
सबै पार्टी निकटकालाई समन्वय गर्न जानेका, निजी क्षेत्रलाई समेत चित्त बुझाउन सकेकाले पनि उनी पुनः दोहारिन सक्ने आधार धेरै रहेका छन् । गृहस्थी जीवन त्यागेर हिँडेका उनले राज्यको कार्यकारी पद अनपेक्षित रूपमा आइलागेको र आफू जन्मेकै क्षेत्रमा संसारकै गौरवका पात्र बुद्धको जन्मभूमि रहेकाले यहाँ केही गर्नुपर्छ भनेर केही काम थालनी भएको र केही बाँकी रहेको उनले बताएका छन् ।
खास गरी राष्ट्रिय गौरवको आयोजनाका कार्यकारी पद भएकाले प्रधानमन्त्री, विभागीय मन्त्री मात्र होइन सत्तारुढ दलहरूले यहाँ आफू निकटका व्यक्तिहरू पठाउने र आवश्यक स्रोत बनाउने गरेको आरोप यसअघिदेखि नै लाग्दै आएको छ । विकास कोषको अध्यक्ष पर्यटन मन्त्री हुने भएपछि यहाँको कार्यकारी नै उपाध्यक्ष रहने गर्दछन् ।
यस कारण पनि यहाँको चासो दलको नेतृत्वसँग जोडिएको हुन्छ । त्रिपाठी पहिले मधेसी दलको कोटाबाट र पछि केपी ओलीको पालामा नियुक्त भएकाले पनि अहिले उनलाई नियुक्ति गर्न राजनीतिक बल पुग्ने सम्भावना कम रहेको छ ।
त्रिपाठीसँगै यहाँ उपाध्यक्षको लागि पूर्व अर्थ राज्य मन्त्री ल्यार्क्याल लामा, सागर धम्ब, सुमंगलम भिक्षु (रमेश बानिया) र आनी छोइङ डोल्मा आकांक्षीको दौडधुपमा छन् । पूर्व अर्थ राज्य मन्त्री रहेका लामा वैशाख २२ गते सम्पन्न बुद्ध जयन्तीमा प्रधानमन्त्री दाहालसँगै लुम्बिनी पुगेका थिए। उनलाई अगाडि सार्न विभागीय मन्त्री सुदन किराँतीको समेत चाहना रहेको छ ।
प्रधानमन्त्री दाहाल त्रिपाठीलाई ल्याउन सकारात्मक देखिए पनि पर्यटन मन्त्री किराँती भने असन्तुष्ट रहेका कारण यही जेठ ७ गते सार्वजनिक रूपमै त्रिपाठीसँग स्पष्टीकरण मागेका थिए ।
सेवा सुविधा नलिएका उपाध्यक्ष त्रिपाठीलाई लुम्बिनी गुरुयोजना विपरीत संरचना निर्माण गर्न दिएको आरोप छ । केही विषय उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै उजुरी दिइएको छ । तर निजी क्षेत्र उनको समर्थनमा छ ।
पदावधि सकिएका उपाध्यक्ष त्रिपाठी र सदस्यसचिव सानुराजा शाक्यलाई एमाले नेतृत्वको सरकारले नियुक्त गरेकोले जसरी पनि फेर्ने योजना र दबाबमा मन्त्री किराँती छन् भने कोषाध्यक्ष सिद्धिचरण भट्टराई अहिलेको गठबन्धनबाट नेकपा एसको कोटामा नियुक्ति भएकाले यथावत् नै रहने छन् । त्रिपाठी र शाक्यलाई माओवादी नेता÷कार्यकर्ताको फेर्न दबाब दिइरहेका छन् ।
उपाध्यक्षको आकांक्षी सागर धम्ब अर्को बलियो पात्र हुन् । अहिले उनी लुम्बिनीमा रहेका छन् । सागर धम्ब नेवार समुदायको तर्फबाट, माओवादी ब्याकग्राउन्डका भएकाले पनि बलियो हुनसक्ने छन् । उनी राजकीय बुद्ध बिहारको संरक्षक, श्रीलंका बसेर युएनमा काम गर्दा अन्तर्राष्ट्रिय सम्बन्ध बनाएको र पछि भिक्षु बनेर लुम्बिनी आएको, अंग्रेजीमा दक्ष रहेको, पर्खाल भित्र र बाहिरको लुम्बिनीको विषयमा स्थानीयलाई समेट्न खोजेकाले पनि उनी उपयुक्त पात्र रहेको उनी निकटस्थहरुले बताएका छन् ।
अर्का आकांक्षी भिक्षु सुमंगलम पनि स्थानीय नै हुन् । उनी पनि अहिलेका उपाध्यक्ष त्रिपाठीकै साथी हुन् । त्यसै गरी केही नेपाली कांग्रेस निकटहरूले आनी छोइङ डोल्मालाई अगाडि सार्नुपर्ने भन्दै लबिङ गरेका छन् तर कांग्रेसभित्रकै एक समूहले कला क्षेत्रको मान्छे कार्यकारी पदमा ल्याएर कार्यसम्पादन हुन नसक्ने भएकाले ल्याउन नहुने सुझाव दिइरहेका छन् ।
उपाध्यक्षका आकांक्षी ल्यार्क्याल लामा पटक–पटक विभिन्न विषयमा विवादित भएकाले उनलाई अगाडि सार्न नहुने केहीको तर्क छ । माओवादी कोटाको सांसद हुँदैखेरि बैंकको लकरमा बन्दुकको गोली राखेर पक्राउ परेर विवादमा आएका थिए भने अकुत सम्पत्ति, दोहोरो राहदानी, ठगी लगायतका विषयमा उनी आरोपित छन् ।
वैदेशिक रोजगारीमा ठगीको आरोपमा पक्राउ परेका थिए । उपाध्यक्षहरूका लागि भिक्षुहरूकै चासो बढेको यो दौडधुपले देखाएको छ । कार्यकारी पद रहेपनि तत्काल कुनै निर्णय नहुने भएपछि कोषाध्यक्षले यसको कार्यवाहक लिने कोषको नियमावलीमा रहेकाले सिद्धिचरण भट्टराईले आजबाट कार्यवाहक पाउने कोषका प्रेस संयोजक विनोद परियारले बताए । नेपाल प्रेस










