बाँके\ढुंगाको अभाव भएपछि राप्तीसोनारी गाउँपालिका–७ खल्ला झगडियास्थित राप्ती नदीमा तटबन्ध निर्माणको काम रोकिएको छ । जनताको तटबन्ध कार्यालय लमहीमार्फत असार दोस्रो साताबाट थालिएको काम ढुंगा अभावमा बीचमै रोकिएको हो । नदी नियन्त्रणका लागि संघीय सरकारबाट असारको दोस्रो साता दुई करोड रूपैयाँ प्राप्त भएको थियो ।
सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद कृष्णा केसी (नमुना)का अनुसार तत्कालै अति जोखिममा रहेका राप्तीसोनारी–२ को कचनापुर र खल्ला झगडियामा तटबन्ध निर्माण थालिएको थियो । खल्ला झगडियामा तटबन्ध निर्माणको क्रममा ढुंगाको अभाव भएपछि काम बीचमै रोकिएको उनले बताइन् । ‘कचनापुरमा तटबन्धको काम लगभग सम्पन्न भइसकेको छ ।
खल्ला झगडिया करिब २५\३० प्रतिशत काम मात्रै हुनसक्यो,’ सांसद नमुनाले भनिन्, ‘त्यहाँ सबै काम हुन नसकेपछि आएको बजेट अन्य पुराना योजनामा खर्च भयो ।’ खल्ला झगडियामा पूरा काम नभएपछि बचेको रकम यसअघि नै सम्पन्न भइसकेको तटबन्धको कामको भुक्तानी दिनमा खर्च गरिएको जनताको तटबन्ध कार्यालयका प्रमुख धर्मकुमार न्यौपानेले जानकारी दिए ।
‘ढुंगाको अभावले तटबन्धको काम ३० प्रतिशतमात्रै हुन सक्यो । बचेको रकम सोनबर्षामा तटबन्ध निर्माण गर्दा भुक्तानी गर्न बाँकी थियो । त्यहीका ठेकेदारलाई दियौं,’ उनले भने, ‘कार्यालयको दायित्व केही भए पनि कम भयो ।’ उनका अनुसार दुई करोडमध्ये बचेको सबै रकम पहिलेको दायित्व तिर्नलाई खर्च गरिएको जानकारी दिए । ‘नदी नियन्त्रणका लागि आर्थिक वर्ष अन्त्यतिर आएको बजेट सकेजति खर्च गर्नेगरी काम गरेका थियौं,’ कार्यालय प्रमुख न्यौपानेले भने, ‘खर्च हुन नसकेको बजेट यसअघि भएका कामको भुक्तानी दिनमा खर्च भयो ।
तिर्नुपर्ने दायित्व कम भयो ।’ पहिलोपटक ‘विग वोल्डर’ प्रयोग गरेर राप्ती नदीले कटान गरेका क्षेत्रमा तटबन्ध निर्माण थालिएकोले ढुंगाको समस्या देखिएको उनले बताए । ‘मैले कर्णाली नदीमा समेत कटान रोक्न विग वोल्डर प्रयोग गरेर तटबन्ध गरेको थिएँ,’ उनले न्यूज मानसरोबरसँग भने, ‘यसपटक राप्तीमा समेत प्रयोग गरिएको थियो ।
कचनापुरमा गरिए पनि खल्ला झगडियामा ढुंगा अभावमा काम सम्पन्न हुन सकेन ।’ वडा नम्बर ७ का अध्यक्ष रामलखन थारूले ढुंगा अभावमा थोरै तटबन्ध भए पनि कटान रोक्नमा धेरै सघाउ पुगेको बताए । ‘ढिला बजेट प्राप्त भएका कारण ढुंगा अभाव हुँदा सबै काम हुन सकेन,’ उनले मिसन टुडेसँग भने, ‘कटान भइरहेको स्थानमा थोरै भए पनि काम हुँदा कटान भने रोकिएको छ ।’
कचनापुरमा भने विग वोल्डरको प्रयोग गरेर तीन सय ५० मिटरभन्दा बढी तटबन्ध निर्माण भइसकेको उपभोक्ता समितिका अध्यक्ष भुपेन्द्र ओलीले जानकारी दिए ।उनका अनुसार तटबन्धको निर्माणको लागि दुई सय ३५ टिप्परभन्दा बढी विग वोल्डर र चार हजारभन्दा बढी जियो ब्यागमा ग्रावेल हालेर प्रयोग गरिएको छ।
‘तीन लाख रूपैयाँ बराबरको उपभोक्ता श्रमदानसहित ७४ लाखमा तटबन्ध निर्माणको लागि सम्झौता भएको थियो,’समितिका अध्यक्ष ओलीले भने,‘करिब साढे तीन सय मिटरभन्दा तटबन्ध निर्माणको काम करिब सम्पन्न गरिसकेका छौं ।’ विग वोल्डरको प्रयोग गरेर तटबन्ध निर्माण गर्नुपर्ने भएकोले ढुंगाको ठूलो समस्या बेहोर्नुपरेको उनले बताए । तटबन्ध निर्माण भएपछि मंगलबार र त्यसअघि समेत आएको ठूलो बाढीले कटान गर्न नपाएको उनी बताउँछन् । नदीको ८\१० फुट गहिराईबाट नै विग वोल्डर हालेर तटबन्ध निर्माण गरिएको छ ।
‘नदीको गहिराईबाट नै विग वोल्डर हालेर तटबन्ध बनाएका कारण दुईपटक ठूलो बाढी आउन कटान गर्न पाएन,’ अध्यक्ष ओलीले भने, ‘यहाँ तटबन्ध बनाएपछि गाउँ र खेतीयोग्य जमिन त जोगियो । अन्य स्थानबाट नदीले कटान गर्न थालिसक्यो ।’ उपभोक्ता समितिले राप्तीसोनारी गाउँपालिकालाई ढुंगावापत नौ लाख बढी राजस्व तिरेको छ ।