बाँके\बाँकेको नौबस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्रको निर्माणमा भइरहेको ढिलाईले यस क्षेत्रका उद्योगी व्यवसायीहरु निराश छन् । बाँकेको बैजनाथ गाउँपालिकाको नौबस्तामा निर्माण हुने सो औद्योगिक क्षेत्रको निर्माण कार्य अगाडी नबढ्दा त्यहाँ उद्योग सञ्चालनका लागि प्रस्ताव पेश गरेका उद्योगी व्यवसायी निराश बनेका हुन् ।
नेपालगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अब्दुल वाहिद मन्सुरीले नौबस्ता औद्योगिक क्षेत्रमा उद्योग सञ्चालनका लागि सात वर्षअघि प्रस्ताव पेश गरेर निर्माण पुरा हुने र उद्योग सञ्चालन गर्ने आशामा रहेका उद्योगी व्यवसायीहरु हाल आएर निराश बनेको बताउँछन् । उनले आवेदन दिएको सात वर्ष बित्दा समेत औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणको काम शुरु हुन नसकेपछि निवेदन दिएका सय बढी उद्योगी व्यवसायीहरु निराश बनेको बताए ।
निवर्तमान अध्यक्ष मन्सुरीले भने, ‘सात वर्षसम्म पनि औद्योगिक क्षेत्र नबन्दा उद्योग खोल्ने योजना बनाएर लगानी समेत जुटाईसकेका उद्योगी व्यवसायी सर्वाधिक मर्कामा परेका छन् । तीमध्ये कतिले त अन्य ठाउँमा उद्योग व्यवसाय समेत शुरु गरिसकेका छन् ।’
औद्योगिक क्षेत्रमा उद्योगका लागि आवेदन दिएका उद्योगीले पटकपटक निर्माण सुरु गर्न विभिन्न माध्यमबाट दवाव दिईरहेको नेपालगञ्ज उद्योग वाणिज्य संघले जनाएको छ ।औद्योगिक क्षेत्रको जग्गा अतिक्रमणमा परेकोले सो नहटेसम्म पूर्वाधार निर्माणको काम सुरु नगर्ने कानूनी व्यवस्था देखाउँदै औद्योगिक क्षेत्रले काम ुरु गर्न सकेको छैन । यता राजनीतिक दल र स्थानीय जनप्रतिनिधिले पटक पटक अतिक्रमण हटाउने प्रयास गरेपनि सफल हुन सकेका छैनन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा धेरै पटक भएको छलफलपछि अवरोध हटाउनका लागि प्राविधिक समिति गठन गरिएपनि अवरोध हटाउन सकिएको छैन ।औद्योगिक क्षेत्रको डिपिआर भएको क्षेत्रभित्र ६४ वटा घरहरु रहेको भन्दै ती घरहरुको व्यवस्थापन गर्न प्राविधिक समितिले सुझाव दिएको थियो तर हालसम्म पनि सो सुझाव कार्यान्वयन हुन सकेको छैन ।
नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा व्यवसायी कृष्णप्रसाद श्रेष्ठले घोषणा गरिएको एक दशकभन्दा बढी बित्दापनि औद्योगिक क्षेत्रको निर्माण नै सुरु हुन नसक्नु निकै दुःखद रहेको बताए । उनले तत्काल समस्या समाधान गरेर सो औद्योगिक क्षेत्रको पुर्वाधार निर्माण शुरु गरिनुपर्ने माग समेत गरे । (गोरखापत्रबाट)