बाँके\पछिल्लो ३ वर्षमा लुम्बिनी प्रदेशमा आपराधिक गतिविधि बढेको छ । प्रदेशका १२ जिल्लामा गरी ३ वर्षको अवधिमा १९ हजार १९४ मुद्दा दर्ता भएका छन् ।लुम्बिनी प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/०७८ मा ज्यानसम्बन्धी, आत्महत्यासम्बन्धी, संगठित अपराध, सार्वजनिक अपराध,सार्वजनिक अपराध,महिला तथा बालबालिकासम्बन्धी र सवारीलगायत गरी ५ हजार ८३५ मुद्दा दर्ता भएका छन् ।
त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ६ हजार ३६२ र २०७९/८० मा ६ हजार ९९७ मुद्दा दर्ता भएका छन् । प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै मुद्दा रुपन्देहीमा र सबैभन्दा कम रुकुममा दर्ता भएका छन् । प्रहरी कार्यालयका अनुसार पछिल्लो ३ वर्षमा रुपन्देहीमा मात्रै ३ हजार ८४६ मुद्दा दर्ता भएका छन् भने रुकुम पूर्वमा यही अवधिमा १९४ मुद्दा दर्ता भएका छन् ।
त्यस्तै नवलपरासी पश्चिममा १ हजार २७९, कपिलवस्तुमा २ हजार १८३, गुल्मीमा ७१७, अर्घाखाँचीमा ५०२ र पाल्पामा ७९३ मुद्दा दर्ता भएका छन् । दाङमा ३ हजार ४७१, प्यूठानमा ६३३, रोल्पामा ५६७, बाँकेमा ३ हजार ४४९ र बर्दियामा १ हजार ५६० मुद्दा दर्ता भएका छन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगरले प्रत्येक वर्ष अपराधसँगसम्बन्धी मुद्दाको संख्या बढ्दै जानुमा शहरीकरणको पनि भूमिका रहेको बताए ।
अपराध घटाउनका लागि प्रहरीले सामुदायिक प्रहरी कार्यक्रमअन्तर्गत विभिन्न जनचेतनामूलक कार्यक्रमहरू पनि रहेको मगरले बताए । ‘अपराध कम गर्नका लागि प्रहरीले सबै जिल्लामा विभिन्न प्रकारका जनचेतनामूलक कार्यक्रम गरे पनि यो पर्याप्त नभएको उनले बताए । प्रत्येक मानिसमा अपराधन गर्नु हुँदैन भन्ने मानसिकताको विकास गराउन सकेमा अपराधका घटना घट्ने उनले जनाए ।