बाँके\नेपालगन्जमा दुई दिने विपद् जोखिम व्यवस्थापनका लागि अन्तर–प्रदेश स्रोत सामूहीकरण कार्यशाला सुरु भएको छ ।लुम्बिनी प्रदेश गृह मन्त्रालयको आयोजना र भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को सहयोगमा बिहीबारदेखि दुई दिने कार्यशाला गोष्ठी सुरु भएको हो ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सरोकारवालाको सहभागिता रहेको कार्यशालामा स्रोतलाई केन्द्रीकृत गर्न सहयोग गरी प्रयोगकर्तालाई स्रोतहरू मौद्रिक, भौतिक, जनशक्ति वा अन्य स्रोतको अधिकतम् लाभ वा जोखिम न्यूनीकरण गर्ने विषयमा छलफल गरिने लुम्बिनी प्रदेश गृह मन्त्रालयका सचिव लालबाबु कवारीले बताए ।
सचिव कवारीका अनुसार अन्तर–प्रदेश र अन्तर–पालिका स्रोत सामूहीकरण वा सङ्कलन, स्रोतको बाँडफाँट, प्रयोग गर्न स्पष्ट कानुनी प्रावधानसहितको सरोकारवालाको भूमिका, जिम्मेवारी, प्रभावकारी समन्वय र सूचना संयन्त्रको आवश्यक व्यवस्थालगायतका विषयमा अभिमुखीकरण गरिनेछ ।
नेपालको सन्दर्भमा विपद् प्रतिकार्यका लागि स्रोतसाधनको सामूहीकरण गर्न छिमेकी प्रदेश र पालिकाबिच स्रोत सङ्कलन संयन्त्र प्रभावकारी हुन आवश्यक रहेको उल्लेख गरेका छन। कार्यशालामा नेपाल सरकारका पूर्वसचिव एवम् विषयविज्ञ शङ्कर कोइरालाले विपद् जोखिम व्यवस्थापनका लागि अन्तर–प्रदेश स्रोत सामूहीकरणका विषयमा सहजीकरण गरेका थिए ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सहरी पूर्वतयारी, भूकम्प पूर्वतयारी र प्रतिकार्यमा सहरी तयारी सुदृढीकरण गर्न सुपर आयोजनाले काम गरिरहेको छ । प्रभावकारी समन्वय र प्रतिक्रिया संयन्त्र हुनुको महत्वलाई स्वीकार गर्दै विद्यमान प्रतिक्रिया संयन्त्रको दक्षता र प्रभावकारिताको आवधिक परीक्षणको लागि सुपरद्वारा अभ्यास गरिएको छ ।
कार्यशालामा लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी उमेशराज जोशी, सशस्त्र प्रहरीका डिआइजी अभि खत्री, बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठोरलगायतको उपस्थिति थियो ।