४ बैशाख २०८२, बिहीबार

चोरी गरेको सामान चोरद्वारा फिर्ता
  • न्युज मानसराेवर

बाँके\बाँकेमा अनौठो घटना भएको छ । केही दिनअघि घर फोडेर लगेको सामान चोरले गएराति घरधनीकै आँगनमा लगेर राखिदिएको छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिका –९, बागेसालका बुद्धबीर वलीको घरबाट चोरले मङ्गलबार राति घरमा कोही नभएको मौका छोपेर घरको ढोकामा लगाएको ताला तोडेर एक थान तिलहरी र ४५ हजार रुपियाँ नगद चोरेर लगेको थियो ।

सोही तिलहरी र केही नगद रुपियाँ गएराति घरधनीकै आँगनमा लगेर राखिछाडेको भेटिएको बुद्धबीर वलीका छोरा प्रेम वलीले जानकारी गराएका छन। नगद र तिलहरी चोरी भइसकेपछि इलाका प्रहरी कार्यालय कोहलपुरमा  उजुरी दिएको प्रेम वलीले  भने ।

“मङ्गलबार राति चोरी भएको तिलहरी र नगद ४५ हजारमध्ये चोरले गएराति तिलहरी र २३ हजार ३ सय ६० रुपियाँ घरको आँगनमा छोडेर गएछ, बाँकी पैसा पनि फिर्ता गरिदिए हुन्थ्यो ।”वलीको भनाइ छ ।

मङ्गलबार राति चोरेर लगेको नगद ४५ हजारमध्ये चोरले २३ हजार ३ सय ६० रुपियाँ वलीको घरको आँगनमा ल्याएर छोडेको छ । चोरले तिलहरी भने फिर्ता गरिदिएको छ ।

घरमा तिलहरी र नगद चोरी भएपछि बुद्धबीर वलीले खोजतलासका लागि बुधबार निवेदन दिनुभएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । चोरको खोजतलास तथा अनुसन्धान भइरहको कोहलपुर प्रहरीले जानकारी दिएको छ ।

  • २४ कार्तिक २०८०, शुक्रबार प्रकाशित

  • Nabintech