१२ श्रावण २०८१, शनिबार

कांग्रेस लुम्बिनी सम्मेलन : तहगत संरचनालाई पूर्णरुपमा जिम्मेवारी दिन केन्द्रसँग आग्रह
  • न्युज मानसराेवर

बुटवल\नेपाली कांग्रेसको प्रथम लुम्बिनी प्रदेश सम्मेलनले तहगत संरचनालाई पूर्णरुपमा जिम्मेवारी दिन पार्टीको केन्द्रसँग आग्रह गरेको छ ।बुटवलमा आइतवार सम्पन्न भएको सम्मेलनले पार्टीको तल्ला संरचनालाई तहगत जिम्मेवारी दिन र हस्तक्षेपकारी भूमिका निर्वाह नगर्न केन्द्रलाई आग्रह गरेको हो ।

सम्मेलनको समापनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले संघीय संरचनाअनुसार पार्टीलाई पनि चलायमान बनाउन आग्रह गरे । ‘संघीय लोकतान्त्रिक गणतन्त्रअनुसार हाम्रो पार्टीको संरचनालाई पनि चलायमान बनाउनुपर्‍यो ।

स्थानीय क्रियाशील बनाउने र  निर्देशन गर्ने काम पार्टीको स्थानीय समितिले गर्नुपर्छ’, उनले भने, ‘प्रदेश सरकारलाई प्रदेश समितिले निर्देशन गर्ने जिम्मेवारी दिनुपर्छ । केन्द्रले हस्तक्षेपकारी भूमिका निर्वाह नगर्न पनि आग्रह गर्छौं ।’प्रदेश सभापति पुनले संघीय सरकारले पनि संविधानअनुसार प्रदेश सरकारलाई अधिकार दिएर प्रदेशलाई चलायमान गराउन सम्मेलनमार्फत आग्रह गरिएको जानकारी दिए ।

प्रदेश सभापतिलाई केन्द्रीय सह–महामन्त्री सरहको पदाधिकारी बनाएर जानुपर्छ भन्ने सुझाव सम्मेलनमा आएको उनले बताए ।

त्यस्तै कांग्रेसको क्रियाशीलताको लागि सबै पालिका सभापतिलाई पदेन महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य बनाउन पनि कांग्रेस लुम्बिनीले आग्रह गरेको छ ।

पार्टीमा एकपटक केन्द्रीय सदस्य भएकाहरू पनि तल्लो तहबाट स्वतः प्रतिनिधि बन्ने व्यवस्था खारेजी तथा सबैले तलैदेखि लडेर आउनुपर्ने कांग्रेस लुम्बिनीले प्रस्ताव गरेको छ । शनिवारबाट शुरू भएको प्रदेश सम्मेलनको आइतवार बन्द सत्र भएको हो । कांग्रेसका केन्द्रीय महामन्त्री गगन थापाको प्रमुख आथित्यतामा भएको बन्द सत्रमा केन्द्रीय सदस्यहरूको पनि सहभागिता रहेको थियो ।

बन्द सत्रमा प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष प्रकाश रानाद्वारा प्रस्तुत प्रतिवेदनमाथि ४ वटा समूह बनाएर छलफल भएको थियो ।

समूहगत छलफलमा पार्टीको आन्तरिक गतिविधिसँगै मुलुकका समस्याका बारेमा पनि प्रतिनिधिहरूले सुझाव व्यक्त गरेका थिए ।

समूहगत छलफलका सुझावहरू समूहका नेताहरूले बन्दसत्रमा पेश गरेका थिए । प्राप्त सुझावलाई समेत समेटिने गरी प्रस्तुत प्रतिवेदनहरू पारित गरिएको छ । सम्मेलनको शनिवार कांग्रेस केन्द्रीय सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।

सम्मेलनमा प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्य, सल्लाहकारहरू, प्रदेश अधिवेशन प्रतिनिधि, जिल्ला सभापतिहरू, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि गरी ७ सयभन्दा बढीको सहभागिता रहेको थियो ।

  • १७ मंसिर २०८०, आईतवार प्रकाशित

  • Nabintech