बुटवल\बुटवलमा नेपाल जेसीजको ५०औं राष्ट्रिय महाधिवेशन हुन लागेको छ । बुटवल जेसीजको आतिथ्यमा मंसिर २९ देखि पुस २ गतेसम्म बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जेसीजको राष्ट्रिय महाधिवेशन हुन लागेको हो ।
हाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले देशभरका शाखाहरुबाट प्रतिनिधिहरु बुटवल आउन सुरु भएको छ । महाधिवेशनमा जेसीजका १७८ शाखाबाट १ हजार २४६ प्रतिनिधि आउनेछन् ।
उद्घाटन कार्यक्रममा पर्यवेक्षक तथा अतिथिसमेत गरी करिब ४ हजारभन्दा बढीको सहभागिता रहने आतिथ्य शाखा बुटवल जेसीजका अध्यक्ष हरिविक्रम कुँवरले बताए ।महाधिवेशनको शुक्रबार दिउँसो २ बजे प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्ने पूर्वअध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए ।
बुटवल जेसीज स्वर्ण वर्षमा रहेको र नेपाल जेसीजको पनि ५०औं राष्ट्रिय महाधिवेशन भएकाले दुबै सन्दर्भ मिलाएर बुटवलमा कार्यक्रम गर्न लागिएको उनले बताए ।‘सक्षम युवा सुदृढ देशः सुशासनका लागि समुन्नत परिवेश’ भन्ने नारासहित हुने जेसीजको राष्ट्रिय महाधिवेशनले बुटवलबाट नयाँ सन्देश दिने पूर्वराष्ट्रिय अध्यक्ष तथा अन्तराष्ट्रिय उपाध्यक्ष अनुपमान सैजुले जानकारी दिए ।राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न विभिन्न १६ वटा उपसमितिले काम गरिरहेको प्रचारप्रसार संयोजक राजीव गौतमले बताए ।