बाँके\जिल्ला प्रहरी कार्यालय बाँकेले गाडीको ठक्करबाट मृत्यु भएका प्रहरी जवानको आश्रित परिवारलाई सहयोगस्वरुप आर्थिक सहायता प्रदान गरेको छ ।
प्रहरी जवान विशाल ओलीको घर मुसीकोट नगरपालिका १३ छिवाङ रुकुमपश्चिम पुगेर उनको आश्रित परिवारलाई नगद आर्थिक सहयोग प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी गराएका छन।
प्रहरी कर्मचारी र कार्यालयबाट सङ्कलित उक्त रकम रुकुमपश्चिममा रहेको स्वर्गीय ओलीकै घरमा पुगेर जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगी र इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले परिवारका सदस्यलाई हस्तान्तरण गरिएको बाँके प्रहरीले जनाएको छ ।
मुसीकोट नगरपालिका १३ छिवाङ रुकुमपश्चिम घर भएका प्रहरी जवान विशाल ओलीलाई गत मङ्सिर २८ गते राति कोहलपुरको मदनचोकमा डिउटीमै रहेका बेला पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भे १ च ३४०७ नम्बरको बोलेरो गाडीले ठक्कर दिएको थियो । ठक्कर दिएपछि उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उहाँको मृत्यु भएको थियो ।