बाँके\बैजनाथ गाउँपालिकाले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेटबाट जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।
गाउँपालिकाले बुधबार जेष्ठ नागरिक सम्मान अन्तरगत ७० र ७१ वर्ष समुहका जेष्ठ नागरिकलाई फाईबर सिरक(न्यानो कपडा) वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ का जेष्ठ नागरिकलाई औपचारिक कार्यक्रम गरेर न्यानो कपडा वितरण गरिएको थियो ।
गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, उपाध्यक्ष निर्मला रोकाय, सम्बन्धित वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्य लगायतले न्यानो कपडा हस्तान्तरण गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शाहीले बैजनाथ स्थानीय सरकार जेष्ठ नागरिकको साथमा रहेको बताए ।
गाउँपालिकाले जेष्ठ नागरिकका लागि बजेट विनियोजन गरेर सहयोग गर्दै आएको सुनाए । जेष्ठ नागरिक सबैका प्रेरणाका स्रोत भएको बताउँदै अध्यक्ष शाहीले सबै मिलेर सम्मान गर्नुपर्ने धारणा राखे ।
यस्तै गाउँपालिका उपाध्यक्ष रोकायले जीवनको अन्तिमतिर जो पनि जेष्ठ नागरिक हुनुपर्ने भन्दै जेष्ठ नागरिकलाई सबैले माया र सम्मान गर्न आवश्यक रहेको धारणा राखिन् ।