२५ बैशाख २०८१, मंगलवार

मिडिया र स्थानिय तहहरुको सहकार्य अपरिहार्य

गैरे र सुवेदी सम्मानित तथा पुरस्कृत

  • न्युज मानसराेवर

नेपालगञ्ज,बाँके:बाँकेका जनप्रतिनिधिले सञ्चार माध्यमसँग सहकार्य गरी अघि बढ्दा विकास निर्माण लगायतका गतिविधि प्रभावकारी हुनेगरेको बताएका छन । उनीहरुले सञ्चार माध्यमहरुसंग सहकार्य अपरिहार्य भएको औंल्याउदै सवै सरेकारवालाहरुले दायित्व बोध गर्न अवेला भईसकेको बताएका छन ।

प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल बाँके शाखाले सोमबार आयोजना गरेको मिडियाको दिगोपनाका लागि जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रममा सहभागीले सो धारणा ब्यक्त गरेका हुन ।

प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुखहरूले मिडिया र सरकारबिच सहकार्य र समन्वय जरुरी भएकोमा जोड दिएका छन । नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले विकास निर्माण लगायत विभिन्न जनसरोकारका विषयमा सञ्चार माध्यमसँग सहकार्य गरी जाने गरेको बताए ।

नगर प्रमुख विष्टले भने, ‘सञ्चार माध्यमले उपमहानगरभित्रका गलत काम पनि जनतासमक्ष ल्याउन जरुरी छ ।’ उनले वास्तविकता आम जनतामाझ ल्याउन सञ्चार माध्यमलाई आग्रह गरे । उनले सञ्चार माध्यमहरुको बृत्ती विकासकालागि सञ्चार माध्यमहरुलाई नै ड्राफ्ट तयार गरि आउन आग्रह गर्दै सञ्चार क्षेत्रलाई आफुले नितिगत रुपमा नै अधिकार सम्पन्न बनाउने बताए ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले विकास निर्माणमा हुनेगरेका ढिलाइ लगायतका विषयमा सञ्चार माध्यमले महत्त्वपूर्ण साथ दिनेगरेको बताउदै । स्थानिय विकासको आधार नै सञ्चार भएकाले पालिकाले सञ्चारमैत्रि निति अंगिकार गर्न कञ्जुसाई नगर्ने समेत जिकिर गरे ।

लुम्बिनी प्रदेश सभा सदस्य दुर्गाबहादुर चौधरीले स्थानीय तह र सञ्चार माध्यमबिच समदूरीको सम्बन्ध हुनुपर्नेमा जोड दिंदै युवाहरुले नेतृत्व लिंदै गर्दा आम जनमानसको निराशालाई सम्वोधन हुन नसकेको प्रति चिन्ता ब्यक्त गरे । मिडियाले निराशाको वातावरणलाई चिर्ने भएकाले सरकारका प्रतिनिधिहरुले कुनैपनि सुचना लुकाएर काम गर्न नहुनेमा जोड दिए ।

जनप्रतिनिधिहरुले सामाजिक दायित्व बोध गर्ने गर्ने गरि सुचना उपलब्ध गराउनु पर्ने भन्दै पुर्व लुम्विनी प्रदेशका वन तथा वातावरण मन्त्रि समेत रहेका चौधरीले मिडियालाई ब्यबस्थित र दिर्घजिवी बनाउन समेत जनप्रतिनिधिहरुले बिशेष भुमिका खेल्नुपर्ने बताए ।

प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज पत्रकार झलक गैरेलाई रेसम विरहि पत्रकारिता र सरला सुवेदीलाई क्रियाशिल पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ ।

प्रेस चौतारीको २६ औं स्थापना दिवसका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा उपस्थित अतिथीहरुलाई उपाध्यक्ष विनोद भट्टराईले स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए भने प्रेस चौतारी नेपालका पुर्व उपाध्यक्ष शिव डोटेल, पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्मा, समाजबादि प्रेस संगठनका जिल्ला अध्यक्ष लोकनाथ शर्मा, प्रेस युनियनका जिल्ला अध्यक्ष प्रिया स्मृती ढकाल, प्रेस सेन्टरका केन्द्रिय सदस्य डक्ट धिताल अग्रज पत्रकार झलक गैरे लगाएतका वक्ताहरुले चौतारीको २६ औं स्थापना दिवसको शुभकामना मन्तब्य समेत ब्यक्त गरेका थिए ।

बाँकेका ८ पालिका प्रमुखलाई निम्ता दिएको भएपनि २ पालिका प्रमुख मात्र उपस्थित रहेको कार्यक्रमको सञ्चालन प्रेस चौतारी बाँकका सचिव कमल डाँगिले गरेका थिए ।

 

  • २२ माघ २०८०, सोमबार प्रकाशित

  • Nabintech