कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा निर्माण गरिएको भ्यू–टावर आज शुक्रबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । कोहलपुरको गोलपार्कमा निर्माण गरिएको भ्यू–टावर परीक्षणकालका लागि नगरपालिका आफैँले सञ्चालन गर्ने गरी सर्वसाधारणका लागि खुला गरिएको हो ।
पाँच करोड ३५ लाख रुपियाँमा निर्माण गरिएको भ्यू–टावर सञ्चालनका लागि पटक–पटक बोलपत्र आब्हान भए पनि निवेदन नपरेपछि नगरपालिका आफैले सञ्चालन गर्न लागेको हो ।
कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले भ्यू–टावर आन्तरिक र बाह्य पर्यटक कोहलपुर भित्र्याउन सहयोगीसिद्ध हुने बताए । उनले भने, ‘कोहलपुरको पर्यटन विकासका लागि यसबाट लाभ मिल्ने विश्वास लिएका छौं ।’
भ्यू–टावर प्रवेश शुल्क प्रतिव्यक्ति ७५ रुपियाँ कायम गरिएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिएका छन । भ्यू–टावर सञ्चालनका लागि नगर प्रहरी परिचालन गरिएको छ । कोहलपुरमा व्यापार मेला सञ्चालन भइरहेको कारण प्रचार–प्रसारका लागि भ्यू–टावर खुला गरिएको थापाको भनाइ छ । निवर्तमान नगरप्रमुख लुटबहादुर रावतको पालामा गौरवको योजना मानेर भ्यू–टावर निर्माण भएको थियो ।













