१२ श्रावण २०८१, शनिबार

रुकुम राडि बजारमा रहेको प्रभु बैंकका एक कर्मचारी ग्राहकको रकम हिनामिना गरी फरार
  • न्युज मानसराेवर

रुकुमपश्चिम: रुकुमपश्चिमको आठविसकोट नगरपालिकाको केन्द्र राडि बजारमा रहेको प्रभु बैंकका एक कर्मचारीले ग्राहकको रकम हिनामिना गरी फरार भएका छन् ।   बैंकको अप्रेशन इन्चार्ज पदमा कार्यरत निराजन शाहले बतचकर्ताको करोडौ रुपियाँ हिनामिना गरेको गुनासोपछि बैंकले आन्तरिक छानबिन समेत सुरु गरेको छ । झुठ्ठा विवरण र खातावालाको जानकारीबिनै बैंकमा जम्मा गरेको रकम खातामा नभएपछि सो रहस्य खुलेको हो ।

अहिले आठविसकोट शाखामा छानबिनको लागि प्रभु बैंकको कर्णाली प्रदेशबाट एक टोली आइपुगेको छ । टोलीले आन्तरिक छानबिन गरिरहेको छ भने उक्त शाखामा कार्यरत सबै कर्मचारीलाई कारबाहीको प्रक्रिया सुरुभएको बैंक व्यवस्थापनले जनाएको छ । सो शाखामा कार्यरत नौ जना कर्मचारीलाई जिम्मेवारविहीन बनाएर पाँच जना नयाँ कर्मचारीको टोली खटाएको शाखा प्रबन्धक डम्बर गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार अप्रेशन इन्चार्ज शाहले तोकिएको जिम्मेवारीको दुरुपयोग गरेर एक करोड बढी रकम हिनामिना गरेको हुनसक्ने देखिएको उल्लेख गर्नुभयो ।  कति बचतकर्ताको कति रकम दुरुपयोग भयो भन्ने बिषय सम्पूर्ण छानबिनपछि मात्र खुल्ने उहाँको भनाइ छ । प्रबन्धक गौतमका अनुसार आफू बिदामा बसेको बेला शाहले आफ्नै आइडिबाट विभिन्न व्यक्तिको खाताको रकम ट्रान्सफर गरेको र यसअघि विभिन्न व्यक्तिहरुको रकम खातामा जम्मा गरिदिन्छु भन्दै जम्मा नगरिदिएको देखिन्छ ।

विश्वासको आधारमा चेक दिएका र खातामा पैसा जम्मा गर्न भनि पैसा दिएका नजिकका आफन्तहरु पनि अहिले बैंकको कर्मचारीबाट ठगिएको भन्दै गुनासो गर्नेगरेका छन् ।  पीडितहरुले दिएको जानकारीअनुसार शाहले आठविसकोट नगरपालिका १३ का शंकर पुनको खाताबाट १० लाख, वडा नम्वर ११ का नरेन्द्र बस्नेतको खाताबाट आठ लाख रुपियाँ अन्यत्रै ट्रान्सफर गरेको पाइएको छ । यसका साथै वडा १० का एक जनप्रतिनिधिले आफ्नो छोरीले जम्मा गरिदिनु भनेर दिएको नौ लाख रुपियाँ इन्चार्ज शाहले जम्मा नगरेर हिनामिना गरेको भेटिएको छ ।

शाखा प्रबन्धक गौतमले यी बाहेक अन्य धेरै बचतकर्ता र सरकारी निकायको रकम समेत दुरुपयोग गरी करोडौ हिनामिना गरेको बताउनुभएको छ । बढी मात्रामा स्थानीय तहको नाममा आएको रकम दुरुपयोग भएको बैंकको भनाइ छ ।

रकम निकालेको आरोप लागेका कर्मचारी शाह अहिले बैंकको सम्पर्कमा नरहेको बताइन्छ । शाहले उपचारका लागि भन्दै एक हप्ता पहिला बिदाका लागि निवेदन दिएको तर स्विकृत नभएको शाखा प्रबन्धक गौतमले जानकारी दिनुभयो । यस प्रकरणको छानबिन गरेर आवश्यक कारबाहिको प्रक्रियामा जाने बैंकको भनाइ छ ।

  • २७ माघ २०८०, शनिबार प्रकाशित

  • Nabintech