काठमाडौँ: ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलमा एक महिला र उनका दुई छोराछोरीको मृत्यु भएको छ। आमा रविना महर्जन घरको तीन तला माथिबाट हाम फालेपछि प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको थियो। तर उनको उपचारको क्रममा किस्ट अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ।
रविनाले हाम फालेको देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए। उनका ६ वर्षीय छोरा अश्वेत महर्जन र २ वर्षीया छोरी अचेत अवस्थामा भेटिएका थिए। उनीहरूलाई पनि उद्धार गरेर अस्पताल लगिएको थियो। उपचारको क्रममा दुवै छोराछोरीको पनि किस्ट अस्पतालमै मृत्यु भएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।










