१५ बैशाख २०८१, शनिबार

नेपालगञ्ज नगरको रानी तलाउलाई ४० लाख
  • न्युज मानसराेवर

नेपालगञ्ज:आन्तरिक पर्यटकको बसिबियाँलो र रमाइलो गर्ने थलो नेपालगञ्जस्थित रानीतलाउ उद्यानको थप पूर्वाधार निर्माण र सेवा सुविधा विस्तारको कार्य प्रारम्भ भएको छ ।

लुम्बिनी प्रदेश सरकार पर्यटन डिभिजन कार्यालय बाँकेले रकम विनियोजन गरी निमार्णको काम सुरु गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा उक्त उद्यानको भौतिक पूर्वाधार निर्माण र सेवा तथा सुविधा विस्तारका लागि रु ४० लाख बजेट विनियोजन गरिएको नगरप्रमुख प्रशान्त विष्टले जानकारी दिए ।

करिब साढे दुई दशक बन्दको अवस्थाबाट पुनः जीवन पाएको ऐतिहासिक रानीतलाउलाई लुम्बिनी प्रदेश सरकार र उपमहानगरपालिकाले आफ्नो प्राथमिकतामा राखेका छन् । तत्कालीन नगर प्रमुख डा धवलशम्शेर राणाले पाँच वर्षअघि जीर्णोद्धार गरी सञ्चालनमा ल्याएको ऐतिहासिक पृष्ठभूमिको रानीतलाउ उद्यानप्रति अहिलेका प्रमुख विष्टले पनि उत्तिकै महत्व दिएका छन ।

नेपालगञ्ज भूगोलको मध्य भागमा अवस्थित यो उद्यानमा मूलतः त्यहाँ रहेको नौकाविहारले सबैलाई आकर्षित गरेको छ । उद्यानमा रमणीय बगैँचा, बालबालिकाका लागि पिङ, चिप्लेटी, चमेनागृह लगायतको व्यवस्था गरिएको छ । वडा नं ८ स्थित गोलाकार आकारको रानीतलाउ पर्यटन विकासमा कोसेढुङ्गा साबित हुँदै गएको छ । पछिल्लो समय रानीतलाउ उद्यानमा भारतीय पर्यटक आउन थालेका छन् ।

रानीतलाउलाई अहिले ठेक्कामा सञ्चालन गरिएको नगर प्रमुख विष्टले बताए । “उपमहानगरपालिकामा जनप्रतिनिधि भएर आएपछि मैले ऐतिहासिक रानीतलाउलाई पर्यटकीय क्षेत्रका रुपमा विस्तार गर्दै लैजान कुनै कसर बाँकी राखेको छैन”, विष्टले भने ।

  • ३० फाल्गुन २०८०, बुधबार प्रकाशित

  • Nabintech