१५ बैशाख २०८१, शनिबार

श्री एयरले आकाशमै अढाई घण्टासम्म फन्को लगाएपछि…..
  • न्युज मानसराेवर

काठमाडौँ:धनगढीबाट ७७ जना यात्रु लिएर काठमाडौँ आउँदै गरेको श्री एयरको जहाज आकाशमै अढाई घण्टा होल्ड भएर भैरहवामा अवतरण भएको छ। श्री एयर लाइन्सको जहाज दुई घण्टा २२ मिनेट आकाशमा होल्ड भएपछि भैरहवामा अवतरण गरिएको श्री एयर लाइन्सले जनाएको छ। श्री एयरका प्रतिनिधि गजेन्द्र शाहीले भैरहवामा अवतरणपछि पुनः जहाज काठमाडौँका लागि प्रस्थान गरेको जानकारी दिए। ‘जहाज भैरहवाबाट काठमाडौँका लागि उडिसकेको छ,’ शाहीले  भने।

सो जहाज आज बिहान सात बजेर २२ मिनेट जाँदा धनगढीबाट उडेको थियो। काठमाडौँको मौसम खराव हुँदा जहाज आकाशमै झण्डै अढाई घण्टा होल्ड भएको थियो। काठमाडौँको आकाशबाट फर्किएर जहाज भैरहवामा आपतकालीन अवतरण गरिएको शाहीले बताए। धनगढीबाट काठमाडौँको उडान समय ५० मिनेट मात्रै हो। ८० सिट क्षमताको सो जहाजमा २ बालबालिकासहित ७७ जना यात्रु सवार थिए।

धनगढीबाट उड्दा काठमाडौँको मौसम जहाज अवतरणको लागि अनुकूल भएपनि एकाएक मौसम विग्रँदा जहाज अवतरण हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ।

जहाजले आकाशमै अढाई घण्टासम्म फन्को लगाउँदा धेरै यात्रु आँत्तिएका थिए। जहाजमा फ्युल पर्याप्त रहेकाले यात्रुलाई नआँत्तिन चालक दलका सदस्यले आग्रह गरेका थिए।

  • १५ चैत्र २०८०, बिहीबार प्रकाशित

  • Nabintech