१७ बैशाख २०८१, सोमबार

नेपालगञ्जमा अस्थायी रुपमा दिसाजन्य लेदो व्यवस्थापन

दुई विगाहा क्षेत्रफलमा रहेको अस्थायी केन्द्रमा १७ वटा खाल्डा

  • न्युज मानसराेवर

नेपालगञ्ज :  नेपालगञ्ज उपमहानगरपालिकामा समस्याकोे रुपमा रहेको दिसा जन्य लेदो व्यवस्थापन समस्या हल भएको छ । नेपालगञ्ज–२० बाबाघाटमा निर्माण भएको दिसाजन्य लेदो व्यवस्थापन अस्थायी ट्रेन्च केन्द्र सञ्चालनमा आएपछि वर्षौंदेखिको समस्या अन्त्य भएको हो ।

नेपालगञ्ज उपमहानगर प्रमुख प्रशान्त विष्ट र एसएनभी नेपालकी वास लिडर नादिरा खवाजाले दिसाजन्य लेदो ब्यवस्थापन अस्थायी क्षेत्रको आज (शुक्रबार) उद्घाटन गरेसंँगै सो समस्याको समाधान भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाको अनुरोधमा एसएनभी नेपालको स्वास्थ्य तथा विकासको लागि नगर सरसफाई तथा स्वच्छता कार्यक्रम अन्तर्गत वास एसडिजी परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित अस्थायी ट्रेन्च केन्द्र नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको थियो ।

ट्रेन्च केन्द्र हस्तान्तरण कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्टले नेपालगञ्ज उपमहानगरपालिकाले अस्थायीरुपमा दिसा विर्सजन गर्ने ठाउँ निश्चित गरेर सञ्चालनमा ल्याएसँगै अब खुला ठाउँमा दिसाजन्य फोहोर फाल्नु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको बताए ।

नगर प्रमुख विष्टले खुला ठाउँमा दिसाजन्य फोहोर फाल्दा त्यसले पानीको सतहलाई समेत प्रदूषित पार्ने र संक्रामक रोगको महामारी फैलिने जोखिम टरेको बताउदै भने–‘आज नेपालगञ्ज उपमहानगरपालिकाका लागि सुखद दिन हो, घरजन्य र स्वास्थ्यजन्य फोहोर ब्यवस्थापन साइट यसअघि नै बनिसके पनि दिसाजन्य लेदो ब्यवस्थापन कसरी गर्ने भन्ने टाउको दुःखाई थियो तर, आज अस्थायीरुपमै भए पनि संरचना बनेको छ, यसले निकै सहज हुनेछ ।’

स्थायी ट्रेन्च केन्द्र बनाउनका लागि डम्पिङ्ग साइट क्षेत्रमै डिपीआर भएर काम अगाडि बढेको जानकारी दिदै नगरप्रमुख विष्टले भने–‘संघीय सरकारसंग पनि सहयोग मागेका छौं, आशा छ त्यो काम पनि छिट्टै सुरु हुनेछ ।’ अस्थायी ट्रेन्च केन्द्रको नियमन र अनुगमन गर्न संयन्त्र बनाइने उनले जानकारी दिए ।

एसएनभीकी वास टिम लिडर खवाजाले यसले नेपालगञ्ज उपमहानगरपालिकाको सुरक्षित दिसाजन्य लेदो ब्यवस्थापनको प्रयासलाई सहयोग पुर्याउने विश्वास ब्यक्त गरिन । उनले नेपालगञ्जलाई स्वास्थ्यजन्य हिसाबले सुरक्षित बनाउन यसले भूमिका खेल्ने बताईन ।

कार्यक्रममा उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, विपद तथा वातावरण समिति संयोजक एवम् वडा नम्बर ६ का वडा अध्यक्ष समिरप्रताप सिंह, वडा नम्बर २० का वडा अध्यक्ष कौशलकुमार धोबी, वातावरण शाखा प्रमुख प्रकाश डिसी लगायतको उपस्थिति थियो ।

२४ लाख लागतमा निर्माण गरिएको दिसाजन्य लेदो ब्यवस्थापन अस्थायी केन्द्रको जग्गा पाँच बर्षका लागि लिजमा लिइएको छ । दुई विगाहा क्षेत्रफलमा रहेको अस्थायी केन्द्रमा १७ वटा खाल्डा खनिएका छन् ।

एसएनभीका कन्सल्टेन्ट इन्जिनियर मुनबहादुर खड्काका अनुसार दिसाजन्य लेदो व्यवस्थापन गर्न ४० मिटर लम्बाई, २ मिटर उचाई र १.२० मिटर चौडाई भएका खाल्डा खनिएका छन् । वरिपरि तारजाली लगाएर सुरक्षित बनाइएको छ । खड्काले द्रुत गतिमा काम गरेर एक महिनामै ट्रेन्च केन्द्रको निर्माण कार्य सम्पन्न गरेको बताए ।

 

 

  • १६ चैत्र २०८०, शुक्रबार प्रकाशित

  • Nabintech