१५ बैशाख २०८१, शनिबार

बर्दियाको ठाकुरद्वारामा युवतीहरूलाई वातावरण संरक्षण सम्बन्धी ज्ञान प्रदान
  • न्युज मानसराेवर

बर्दिया:बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरद्वारामा सञ्चालन गरेको वातावरण संरक्षण सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा क्लबद्धारा बर्दियामा सञ्चालित हरित अर्थतन्त्र परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरिएको थियो ।

सो तालिममा राजापुर नगरपालिकाका १५ र ठाकुरबाबा नगरपालिकाबाट १५ जना गरी कुल ३० जनाको सहभागिता रहेको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । उहाँले वातावरण र हरित अर्थतन्त्रको महत्व, बढ्दो ग्लोबल वार्मिङ र जलवायु परिवर्तनका कारणले क्षतविक्षत हुने वातावरणको नकारात्मक असरका बारेमा केन्द्रित रहेर युवतीहरूलाई ज्ञान प्रदान गर्नु तालिमको मुख्य उदेशय रहेको बताउनुभयो ।

तालिमको प्रमुख प्रशिक्षक रहनु भएका बर्दिया राष्ट्रिय निकुञ्जका सहायक वार्डेन बद्री विनोद दाहालले विद्यमान वातावरणीय कानून र यसको प्रभावकारी कार्यान्वयनसँगै सामुदायिक स्तरमा वातावरण संरक्षणका लागि ध्यानमा राख्नुपर्ने विषयहरुका बारेमा बिस्तृत रुपमा जानकारी गराईएको बताउनुभयो ।

उहाँले सहभागि युवतीहरु निकै हर्षित र उत्साहित देखिएको तथा उनिहरुले समाजमा सम्मानजनक जीवनयापन गर्न हरित व्यापारमा आफुलाई आत्मनिर्भर र आर्थिक रुपमा सक्षम बनाइ वातावरण संरक्षणमा योगदान पु¥याउन समुदायस्तरमा चेतना जगाउने प्रतिवद्धता समेत जनाएको बताउनुभयो ।

तालिमका सहभागि दिल कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको तालिम समापन कार्यक्रमको प्रमुख अतिथिमा क्लबका वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ लगायत अध्यक्ष तुलाधर, प्रमुख संरक्षक परवेज अली सिद्दिकी र कार्यकारी निर्देशक साजिद अली सिद्दिकीको पनि उपस्थिति रहेको थियो ।

सो अवसरमा सहभागीहरूको तर्फबाट बोल्दै नैना थारुले यो प्रशिक्षणले वातावरणको महत्व र बाँच्नको लागि मानव र वातावरणबीचको अभिन्न अन्तर सम्बन्धका बारेमा राम्ररी जानकारी भएको हुनाले तालिम निकै उपलब्धीमूलक भएको बताउनुभयो । कार्यक्रम सफल पार्न परियोजनाका कर्मचारीहरु राधेकृष्ण थारु, सञ्जिता रिजाल र कञ्चन दहितले पनि उल्लेख्य सहयोग गर्नु भएको थियो ।

  • १६ चैत्र २०८०, शुक्रबार प्रकाशित

  • Nabintech