१८ बैशाख २०८१, मंगलवार

बाँकेमा वेदमा आधारित गुरुकुल विद्यालय सञ्चालनका लागि तयारी
  • न्युज मानसराेवर

नेपालगन्ज:बाँकेमा वेदमा आधारित गुरुकुल विद्यालय सञ्चालनका लागि आवश्यक तयारी सुरु भएको छ। नेपालगन्ज उपमहानगरपालिका–२२ को खलवा पुरैनीमा गुरुकुल सञ्चालनका लागि भवन निर्माण कार्य सुरु गरिएको हो।

स्थानीयको सहयोग तथा दाताको सहकार्यमा लामो समयको प्रयासपछि गुरुकुल भवनको निर्माण सुरु गरिएको स्थानीय अगुवा अजय साहनीले जानकारी दिनुभयो। उहाँका अनुसार करिब पाँच वर्षको लगातार प्रयासपछि गुरुकुलको भवन बनाउने कार्यले सफलता पाएको छ। भवन निर्माणसँगै गुरुकुल सञ्चालनका लागि अन्य आवश्यक कार्यको पनि तयारी भइरहेको छ।

अहिलेको अवस्थामा आफ्नो धर्म, संस्कृति र समाज जागरणका लागि वेदमा आधारित शिक्षा पद्धतिको महत्त्व बढ्दै गएकाले आफू गुरुकुल सञ्चालनका लागि निरन्तर रूपमा लागि परेको साहनीको भनाइ छ।

गुरुकुल भवन निर्माणका लागि लुम्बिनी प्रदेश सभा सदस्य मीना श्रेष्ठको पहलमा प्रदेश सरकारबाट बजेट विनियोजन गरिएको छ। भवनका लागि आवश्यक जग्गा खरिद गरेर भवन निर्माणको कार्य ठेक्कामार्फत सञ्चालन भएको छ।

नेपालगन्जका एक दाताले जग्गा खरिदका लागि आवश्यक रकम सहयोग गरेपछि भवन निर्माण प्रक्रियाले सफलता पाएको हो।

भवन निर्माणका लागि प्रदेश सरकारले ३० लाख रुपियाँ बजेट उपलब्ध गराएको जिल्ला समन्वय समितिका निवर्तमान सदस्य चेतबहादुर घर्तीले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, ‘गुरुकुल शिक्षा एकदमै जरुरी छ, समुदायमा धार्मिक ज्ञान कम भएकाले आपसमा मतभेद छ। यस्तो गुरुकुलले अध्ययन गर्ने व्यक्तिमा धार्मिक ज्ञान प्रदान गर्छ र व्यक्ति आफ्नो धर्मको बारेमा जानकार बन्छ।’ अहिले मानव मानवबिच व्यवहारिकता र धर्मबारे ज्ञानको कमी भएकाले धार्मिक शिक्षाको आवश्यकता रहेको सदस्य घर्तीको भनाइ छ।

गुरुकुल सञ्चालनका लागि स्थानीय युवा लाग्नु सकारात्मक कुरा भएको पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गजेन्द्रबहादुर हमालले बताउनुभयो। उहाँले गुरुकुल सञ्चालनका लागि आफूले आवश्यक सहयोग र समन्वय गर्दै आएको पनि बताउनुभयो।

  • २३ चैत्र २०८०, शुक्रबार प्रकाशित

  • Nabintech