१८ बैशाख २०८१, मंगलवार

नयाँ वर्ष,नयाँ अठोट, नयाँ सङ्कल्प
  • न्युज मानसराेवर

आजबाट नयाँ वर्ष सुरु भएको छ । शब्दार्थ अनुसार बुझ्ने हो भने ‘नयाँ’ शब्द आफैँमा खुसी, उत्साह र रहस्यले भरिएको शब्द हो । यस अर्थमा नयाँ वर्ष खुसी,उत्साह र रहस्यको त्रिवेणी हो ।  प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा वर्ष वा सालको सुरुवाती दिन नै नयाँ वर्ष हो ।

नेपाललगायतका विक्रम संवत् मान्ने स्थानहरूमा वैशाख १ गतेलाई नयाँ वर्ष मानिन्छ । यसलाई हामीले एउटा विशेष पर्वका रूपमै लिने गर्दछौ ।  सरकारले पनि आजका दिन विशेष दिन मानेर सार्वजनिक बिदा दिने गरेको छ । त्यसैले यो दिन योजनाबद्ध ढङ्गमा काम गर्ने मान्छेका लागि महत्त्वपूर्ण दिन हो । कतिपय मान्छेका लागि नयाँ काम सुरु गर्ने, नयाँ योजना बनाउने र गलत आचरण छोड्ने विशेष दिन नयाँ वर्ष नै हुने गरेको छ ।

हामीले २०८० लाई बिदा गरेका छौ । वर्षले बिदा लिइरहँदा हामीले वर्षभरि भएगरेका आफ्ना कामहरूको स्मरण गर्न सक्नु पर्दछ । वर्ष भरी गरेका हाम्रा कामको समीक्षा गर्ने र त्यसबाट मिलेको  सफलता या असफलताको मुल्याङन गर्दै आगामी कामको योजना बनाउने र ती योजना पूरा गर्न प्रतिबद्धता व्यक्त गर्ने दिनका रूपमा हामीले नयाँ वर्षलाई लिन सक्नु पर्दछ ।

पक्कै पनि नयाँ वर्ष एक हप्तामा नै पुरानो हुनेछ ।  त्यसपछि हामीले नयाँ वर्ष पाउन थप  एक वर्ष कुर्नु पर्ने हुन्छ । त्यसैले नयाँ वर्षलाई हामीले सधैँ नयाँ र नविनतम्  बनाइराख्न सही योजना र अठोट लिनु पर्दछ । नयाँ वर्ष आखिरमा पात्रोमा भएको परिवर्तनको प्रतिबिम्ब न हो । त्यसैले हामीले पात्रोमा भएको परिवर्तनजस्तो गरी यसलाई आवरण परिवर्तनका रूपमा मात्र नलिई  आचरण परिवर्तनका रूपमा ग्रहण गर्न सक्नु पर्दछ ।

नयाँ वर्ष भन्ने बित्तिकै नयाँ जोस, नयाँ सोच र नयाँ उमङ्ग थपिनु स्वाभाविक हो । मानिस आशावादी प्राणी हो ।  आशाले नै भविष्य निर्माण गर्नसमेत  मद्दत गर्दछ  । अतः सुन्दर भविष्य निर्माणका लागि थुप्रै काम गर्नुपर्ने हुन्छ । त्यसैले जीवनलाई डो¥याउन विगत बिर्सेर भविष्यप्रति आश्वस्त हुनै पर्छ ।  नआँटीकन र नगरीकन केही पूरा हुँदैन । सुन्दर भविष्यको कल्पना साकार गराउन  सोचमा सकारात्मकता जरुरी हुन्छ ।

त्यसैले नयाँ वर्षको स्वागत गरिरहँदा निराशा, आक्रोश र नकारात्मक सोच र प्रवृत्ति त्याग्नु र सकारात्मक सोंच ल्याउनु आवश्यक छ  । काम गर्न सबैले जानेका हुन्छन् । काम गर्ने तौर तरिका र सोच सबैको फरक हुन सक्दछ । सकारात्मक सोच र फरक तरिकाले गरिने कार्यसम्पादने नै मानिसहरू सफल हुने गरेका छन् । त्यसैले नयाँ वर्षसँगै सकारात्मक सोच र फरक तरिकाले कार्यसम्पादन गर्ने अठोट हामीले लिनु पर्दछ ।

त्यसो त नयाँ समयले नयाँ चुनौती र  नयाँ जिम्मेवारी पनि थप्नेछ । थपिएका जिम्मेवारी र चुनौतीको सामना गर्न दृढ सङ्कल्प,मेहनत र लगनशीलता आवश्यक हुन्छ । त्यसका लागि पनि हामी दृढ रहने साहस र हिम्मत जुटाउन जरुरी छ । अनेकन आरोह अवरोहबीच हरेक मान्छेलाई अवसरहरू आइरहन्छन् । आएका अवसरलाई पहिल्याउने र ती प्राप्त अवसरलाई सही तरिकाले सदुपयोग गर्ने अठोट लिने दिनका रूपमा पनि हामीले नयाँ वर्षलाई लिनु पर्दछ  ।

जतिसुकै समस्या भए पनि अवसरले हाम्रो ढोका ढकढक्याउन कहिल्यै बन्द गर्दैन बन्ने सोंच हामीले लिनु पर्दछ । परिवर्तन भनेको अरूबाट खोज्ने कुरा हैन हिजो म अबुझ थिए, त्यसैले संसार बदल्न खोज्दथे  तर आज म अनुभवी छु, त्यसैले आफैँलाई बदल्न खोज्दै छु भन्ने सोंच हामीले राखेर आफ्ना कमीकमजोरीहरू सुर्धान सक्नु पर्दछ । पक्कै पनि नकारात्मक मस्तिष्कले सकारात्मक जीवन दिँदैन त्यसैले हामीले हाम्रो सोचलाई जहिल्यै सकारात्मक बनाउन प्रण गर्ने अवसरका रूपमा आजको दिनलाई लिन जरुरी छ ।

कसैले पनि विगतमा फर्केर नयाँ सुरुवात गर्न सक्दैन ।  सबैले बर्तमानबाट नै सुरुवात गरेर नयाँ परिणाम निकाल्न हुन् अतः नयाँ परिणामका लागि नयाँ सुरुवात आजैबाट आवश्यक छ । धैर्यतापूर्वक हिँड्ने हो भने अवश्य पनि हामी सही गन्तव्यमा पुग्ने छौ । जतिसुकै अँध्यारो भए पनि उज्यालो बिहानी आउन कहिल्यै रोकिएको छैन । हिजोको दुः ख र भोलिको चिन्ताले आजको खुसीलाई खोस्न नदिऊ ।  कसैले चिन्ता लिदैंमा र रोई कराई गर्दैमा समस्या समाधान हुने होइन बरु  समस्या समाधानको दिशामा सानै कोसिस गर्नु नै बुद्धिमत्ता हो ।  समय हाम्रो हो यसलाई सुन बनाउन खर्चिने या सुत्ने  सुत्ने निर्णय हाम्रै हातमा छ । आफ्नो जीवनको दिशा निर्धारण गरौं जीवन हामी जहाँ चाहन्छौँ त्यहाँ जाँदैन, यो हामी जहाँ जान्छौँ त्यहाँ जान्छ भन्ने कुरा हेक्का राखौँ। जीवनको सबैभन्दा ठुलो रहस्य भनेकै हरेक दिन एक नयाँ अवसर हो भन्ने कुरा मनन गरौँ र प्रत्येक दिनलाई  सदुपयोग गर्ने  प्रण गरौँ । नकारात्मकतालाई आफ्नो जीवनबाट टाढा राखौँ। नयाँ वर्षलाई साँच्चिकै नयाँ बनाउने प्रण गरौँ ।

परिस्थितिले आज हामीलाई नयाँ र महत्त्वपूर्ण अभिभारा दिएको छ । देश आर्थिक सङ्कटोन्मुख अवस्थामा छ । नयाँ सरकार निर्माण भएसँगै केही आशा पलाए पनि निराशाको चाङ घटिसकेको  छैन । महिनासँगै वर्ष फेरिए तर नागरिकका जीवन फेरिन सकेको छैन । जनता सधैँ परिवर्तनको पक्षधर भए पनि परिवर्तनको अनुभूत गर्न सकिरहेका छैनन् । तसर्थ राज्य सञ्चालकहरूले पनि नयाँ वर्षलाई जनताका ती निराशा चिर्ने अवसरका रूपमा लिनु पर्दछ ।

पात्रो मात्र फेरिरहने तर नागरिकका जीवन नफेरिने रोग अब दोहोर्‍याउन छुट हामीलाई छैन । अब पात्रो मात्र होइन, पात्र पनि परिवर्तन हुनुपर्दछ । हिजोको भन्दा आज बदलिएको असल र गुणी पात्र बन्न हामी सबै लाग्नु पर्दछ ।

रूखका पुराना पात खसेर नयाँ पलाउने क्रम छ । चराचुरुङ्गी नयाँ गुँड बनाउँदै छन् । यो वसन्त ऋतुको आगमनसँगै हामीले पनि  नयाँ योजनाहरू बनाउन जरुरी छ । आफ्ना अवगुण, कमीकमजोरी तथा नराम्रा पाटा सुधारेर नयाँ वर्षदेखि राम्रो काम गरेर देखाउने बाचा हामी सबैले गर्नै पर्दछ ।

हाम्रो समस्या हामी आफैँले समाधान गर्ने हो । बाहिरबाट खोजिएको समाधान हाम्रो हितमा नहुन पनि सक्छ । आपसी विश्वास र सहकार्य बिना मुलुकले निकास पाउँदैन । जनतालाई विकास र सुशासन नदिई जनताको निराशा चिर्न सकिँदैन । जहाँ इच्छा त्यहीँ उपाय भने झैँ समस्या समाधान गर्ने चाहना सबैले राख्नु पर्दछ ।सबैले आ–आफ्नो दायित्व र जिम्मेवारी सम्झिनुपर्ने हुन्छ । हरेकमा जनता र देशप्रतिको दायित्वबोध हुन जरुरी छ । भएका कमीकमजोरीको समीक्षा गर्दै नयाँ वर्षसँगै नयाँ म बन्ने प्रण हामी सबैले गर्नुपर्दछ । नयाँ वर्षले हामी सबैलाई नयाँ जिम्मेवारी बहन गर्ने सोच र शक्ति देओस् । नयाँ वर्ष २०८१ सबैका लागि सुखद होस्, यही शुभकामना ।

  • १ बैशाख २०८१, शनिबार प्रकाशित

  • Nabintech