१८ बैशाख २०८१, मंगलवार

बाँकेमा राप्ती नदीको कटानबाट बस्ती जोगाउन तीव्र गतिमा तटबन्ध निर्माण
  • न्युज मानसराेवर

राप्ती सोनारी:जनताको तटबन्ध कार्यालयले बाँकेमा राप्ती नदीको कटानबाट बस्ती जोगाउने उद्देश्यले तीव्र गतिमा तटबन्ध निर्माण कार्यलाई अघि बढाएको छ । निर्माण सुरु भएको एक वर्षमा करिब ४० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।

एशियाली विकास बैङ्कको सहुलियत ऋण सहयोगमा जनताको तटबन्ध कार्यालयले राप्ती सोनारी वडानं. २ मा १ हजार ३ सय मिटर र वडा नं. ६ मा १ हजार २ सय मिटर तटबन्ध निर्माण गरि रहेको साईड इन्जिनियर हेमराज भण्डारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–‘ बाँकेमा जनताको तटबन्ध कार्यालयले दुई साईटमा काम गरिरहेको छ । गत २०७९ पुसदेखि ९ सय दिनमा निर्माण कार्य सम्पन्न गर्ने गरी कालिका कन्स्ट्रक्सनसंग ठेक्का सम्झौता भएको छ ।’

इन्जिनियर भण्डारीले भन्नुभयो, ‘तटबन्धबाट वडा नं. २ मा करिब ४ सय ५० घरधुरी कटानबाट जोगिने साथै ३ सय ८० विगाह जमिन पुन प्राप्ति हुने र वडानं ६ मा १ सय ५० घरधुरी र २ सय ५० विगाह जमिन पुन प्राप्ति हुने छ ।’

दुई हजार पाँच सय मिटर तटबन्ध निर्माण गरिँदै आएकोमा थप बिनौनाको पुलसम्म तटबन्ध आवश्यक हुने देखिए पछि ६० करोड बजेट थप माग गरिएको इन्जिनियर भण्डारीले बताउनु भयो ।

उहाँले सो तटबन्ध निर्माणको लागि ४२ हजार ५ सय २५ घनमिटर ढुङ्गा चाहिने र आवश्यक ढुङ्गा मुगुवा खोलाबाट निकाल्नका लागि राप्ती सोनारी गाउँपालिकाले सहजिकरण गरेको जिकिर गर्नु भयो ।

लुम्बिनी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री कृष्ण केसी ‘नमूना’ ले जनताले राप्ती नदीको कटानबाट मुक्ति पाउने गरी काम गर्न आयोजनालाई पटक–पटक ताकेता गरेको बताउनुभयो ।

राप्ती नदिले मात्र नभएर नदिमा मिसिने विभिन्न खहरे खोलाले पनि कटान र डूवानको समस्या निम्त्याएकोले आफूले सकेको पहल त्यसको रोकथामको लागि भूमिका निर्वाह गर्दै आएको पूर्व मन्त्री केसीले जिकिर गर्नु भयो । उहाँले भन्नुभयो ‘तटबन्ध निर्माणको कार्यले तीव्रता पाए पछि जनतामा आशाको किरण पलाएका छ ।’

राप्ती नदीको कटानले गर्दा बाँकेमा वर्षेनी सयौँ विगाह खेतीयोग्य जमिन बगर हुने भएकोले जनताको तटबन्धले एशीयाली विकास बैङ्कको सहुलियत ऋण सहयोगमा २ हजार पाँच सय मिटर तटबन्ध भ्याट बाहेक २८ करोड ४३ लाख ८ सय ७२ रुपैयाँको लगानीमा निर्माण सुरु गरेको छ ।

  • २ बैशाख २०८१, आईतवार प्रकाशित

  • Nabintech