१८ बैशाख २०८१, मंगलवार

गहुँको कुन्योमा आगलागि हुदा जानकीका ११ किसान मर्कामा

प्रहरी, दमकल र स्थानीयको सहयोगमा करिब एक घण्टापछि आगो पूर्णरुपमा नियन्त्रणमा

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँकेको जानकी गाउपालिकामा किसानले कुन्यो बनाएर राखेको गहुँमा आगलागी भएको छ । मंगलबार अपरान्ह साढे तीन बजेतिर किसानले आफ्नै खेतमा कुन्यो बनाएर राखेको करिब २५ क्विन्टल गहुँमा आगलागी भएको प्रहरी चौकी बेलभार बाँकेले जनाएको छ ।

आगलागीबाट अन्दाजी ८७ हजार ५ सय रुपैयाँ बराबरको गहुँ बाली नष्ट भएको बताइएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० गोसाई गाउँ बस्ने २४ बर्षीय राम कुमार भुजुवाले आफ्नै खेतबारी सफा गर्ने क्रममा आगो लागाउँदा जानकी गाउँपालिका वडा नम्बर २ नेवाजी गाउँका ११ जना किसानको कुन्योमा आगो सल्किएको प्रहरीले जनाएको छ ।

आगलागी भएको खबर पाउनासाथ प्रहरी चौकी बेलभारबाट प्रहरी सहायक निरीक्षक रेशम बहादुर खड्काको कमाण्डमा ५ जनाको टोली आगलागीस्थलमा खटिएको थियो । प्रहरी, दमकल र स्थानीयको सहयोगमा करिब एक घण्टापछि आगो पूर्णरुपमा नियन्त्रणमा आएको, थियो । आगलागीबाट मानवीय र चौपायामा क्षति भने नभएको प्रहरीले जनाएको छ । खेतमा आगो लगाउने भुजुवालाई नियन्त्रणमा लिइएको छ ।

  • ५ बैशाख २०८१, बुधबार प्रकाशित

  • Nabintech