१९ बैशाख २०८१, बुधबार

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार : सात मन्त्रीद्वारा शपथ

सातजना मन्त्रीले बिहीबार विभागीय मन्त्रीको रूपमा शपथ

  • न्युज मानसराेवर

बाँके:लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मन्त्रिपरिषद् विस्तारपछि लुम्बिनीमा मन्त्रालयको सङ्ख्या ११ पुगेको छ । बिहीबार नियुक्त सबै विनाविभागीय मन्त्रीलाई प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

यसअघि विनाविभागीय मन्त्रीको रूपमा शपथ लिनुभएका तीनजना मन्त्रीको जिम्मेवारी तोकिएको छ । जस अनुसार नेकपा (एमाले)का चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, नेकपा (माओवादी केन्द्र)का दीपेन्द्र पुनलाई स्वास्थ्य मन्त्रालय र जनता समाजवादी (जसपा)का भण्डारीलाल अहिरलाई कृषि मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ ।

मुख्यमन्त्रीले अरू सात जना मन्त्रीको भने मन्त्रालय तोक्नु भएको छैन । सातजना मन्त्रीले बिहीबार विभागीय मन्त्रीको रूपमा शपथ लिनुभएको हो । मुख्यमन्त्री महराले एमालेका चारसहित नागरिक उन्मुक्ति पार्टी र नेकपा एसका एक–एक तथा स्वतन्त्र सांसद एक जनालाई विनाविभागीय मन्त्री नियुक्त गर्नुभएको हो ।

नियुक्त हुने विनाविभागीय मन्त्रीमा एमालेबाट गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी, रुपन्देहीका भूमिश्वर ढकाल र बाँकेका रत्नबहादुर खत्री, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी, नेकपा एसबाट भगवती अधिकारी र स्वतन्त्र सांसद खड्ग बस्नेत हुनुहुन्छ । उहाँहरूले बिहीबार नै विनाविभागीय मन्त्रीका रूपमा शपथ लिनुभएको छ ।

पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र गरी ४८ प्रदेश सभा सदस्यको समर्थनमा चैत २३ गते माओवादी संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्नुभएको थियो । त्यो समयमा गठबन्धन दलबिच जसपाका दुई, एकीकृत समाजवादी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई मन्त्री बनाउने लिखित सहमति भएको थियो ।

लुम्बिनी प्रदेश सरकारमा एमालेले पाँच, माओवादीले मुख्यमन्त्रीसहित थप दुई, नागरिक उन्मुक्ति, जसपा र स्वतन्त्र सांसदले एक–एक मन्त्रालय बाँडफाँडमा सहमति भएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

  • ६ बैशाख २०८१, बिहीबार प्रकाशित

  • Nabintech