८ जेष्ठ २०८१, मंगलवार

नेपाल पत्रकार महासङ्घ बाँकेले आयोजना गरयो नि: शुल्क स्वास्थ्य शिविर

थुप्रै गरिब जनता स्वास्थ्यको पहुँचमा अझै पुग्न सकेका छैनन्

  • न्युज मानसराेवर

राप्तीसोनारी:बाँकेको दुर्गम, पिछिडिएको र स्वास्थ्य सेवाको कम पहुँच भएको राप्तीसोनारी गाउँपालिकामा नेपाल पत्रकार महासङ्घ बाँकेले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरबाट तीन सयले निःशुल्क उपचार गराएका छन् ।

राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर–३ सरस्वती माविमा महासंघद्धारा कान्ति आरोग्य अस्पताल नेपालगन्जको सहकार्यमा सञ्चालन गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ठुलो सङ्ख्यामा स्थानीयले उपचार गराएको पत्रकार महासंघ बाँकेले जनाएको छ ।

नेपालगन्ज र कोहलपुर टाढा भएकोले सबैले उपचारका लागि त्यहाँसम्म सजिलै जान नसक्ने हुँदा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरबाट धेरैजना बिरामीले उपचार गराउने अवसर पाएको पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले बताउनुभयो । उहाँले जिल्लाको राप्तीपारीका बालबालिका र महिलाहरु स्वास्थ्य सेवाको पहुँचभन्दा अलि टाढा रहेकाले उनीहरुलाई स्वास्थ्यको पहुँचमा पुर्‍याउन निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको बताउनुभयो ।

कान्ति आरोग्य अस्पतालकी प्रबन्ध निर्देशक डा. रोमा बोराका अनुसार स्वास्थ्य शिविरमा बालबालिका र महिला गरी ३०० जनाको स्वास्थ्य चेकजाँच तथा उपचार गरिएको थियो। स्वास्थ्य चेकजाँच गर्न आएका बिरामीलाई निःशुल्क औषधीसमेत वितरण गरिएको डा. बोराले बताउनुभयो ।

स्वास्थ्य शिविरमा आउनुभएका सरस्वती माविका प्रधानाध्यापक ललित चौधरीले यस्तो निःशुल्क स्वास्थ्य शिविरले गरिब जनतालाई ठूलो सहयोग पुर्‍याएको बताउँदै पत्रकार महासङ्घ र कान्ति आरोग्य अस्पताललाई धन्यवाद दिनुभयो । उहाँले फेरि पनि अन्य रोगको शिविर आयोजना गर्न आग्रह गर्नुभयो ।

उक्त विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष प्रेमराज श्रेष्ठले स्वास्थ्य शिविर आयोजनाले यस क्षेत्रका जनतालाई स्वास्थ्यको पहुँचमा पुर्‍याएको प्रतिक्रिया दिंदै अझै पनि यो क्षेत्र धेरै सेवा सुविधाबाट बन्चित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘थुप्रै गरिब जनता स्वास्थ्यको पहुँचमा अझै पुग्न सकेका छैनन् । उनीहरुका लागि धेरै राहत भयो ।’ सो एकदिने निःशुल्क स्वास्थ्य शिविर पत्रकार महासङ्घ बाँके शाखा र नेपालगन्ज सुर्खेतरोडमा रहेको कान्ति आरोग्य अस्पतालको आयोजना तथा सरस्वती मावि राप्तीसोनारी र डेभलपमेन्ट फर नेपालको सहकार्यमा सम्पन्न भएको थियो ।

  • ९ बैशाख २०८१, आईतवार प्रकाशित

  • Nabintech