२३ बैशाख २०८१, आईतवार

अमिरको भ्रमण सद्भावनामै सीमित !
  • न्युज मानसराेवर

कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुईदिने राजकीय भ्रमण गरी फर्किएका छन् । मध्यपूर्वको सानो तर प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका क्रममा विभिन्न आठ विषयमा सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ । तर, यसमा लगानी र श्रमसम्बन्धी विषय परेका छैनन् जुन नेपालका लागि निकै महत्त्वपूर्ण थियो ।

नेपालले पर्याप्त गृहकार्य नगरेकाले उनको भ्रमणबाट नेपालले उचित लाभ लिन नसकेको देखिन्छ । शक्तिशाली मुलुकका राज्यप्रमुखहरूको भ्रमणले मुलुकको शाख र महत्त्व बढाउँछ । अहिले नेपालको कूटनीतिक क्षमता कमजोर भइरहेको विश्लेषण भइरहँदा कतारी राजा अमिरको भ्रमणले भने नेपाल पनि महत्त्वपूर्ण मुलुक हो भन्ने देखाउन मद्दत गर्छ । त्यसैले यस्ता भ्रमणको निकै महत्त्व रहेको हुन्छ ।

यस्ता भ्रमणमा आपसी विश्वास र सद्भाव कायम गराउने एउटा मुद्दा हुन्छ भने अर्को लगानी र सहयोगको विषय हुन्छ । लाखौं नेपालीले कतारको समृद्धिमा पसिना बगाइरहेको सन्दर्भमा अमिरको भ्रमण अझ विशेष मान्न सकिन्छ । त्यहाँको समृद्धिका लागि नेपालीको पसिनाको उनले सम्मान व्यक्त गरे । तर, त्यहाँ कार्यरत नेपाली श्रमिकको भलाइ हुने तथा नेपाली श्रमिकको संख्या बढाउने, लागत घटाउनेजस्ता विषयमा कुनै सफलता प्राप्त भएन । यसमा नेपालले पक्कै पनि कूटनीतिक कमजोरी देखाएको हुनुपर्छ भन्ने विश्लेषण भइरहेको छ ।

मध्यपूर्वमा अशान्ति र विवाद भइरहँदा उनले फिलिपिन्स, बंगलादेश र नेपालको भ्रमण गरेका हुन् । फिलिपिन्स र बंगलादेशसँग भएका सम्झौता र समझदारी हेर्दा त्यहाँ आर्थिक विषय परेका छन् । कर र लगानीसम्बन्धी विषय परेका छन् । त्यस्तै श्रमसम्बन्धी विषय पनि परेका छन् । तर, नेपालसँग भएका सम्झौता र समझदारीमा भने ती विषय परेनन् । बंगलादेशसँग लगानीको सुरक्षा, दोहोरो करको उन्मुक्ति विषयमा सम्झौता भयो । त्यहाँ पाँचओटा सम्झौता र पाँचओटा समझदारी भएको त्यहाँका मिडियाले उल्लेख गरेका छन् ।

नेपालले पनि लगानी, कर र श्रमबाहेक अन्य विषयमा गरेका सम्झौता र समझदारीमा उस्तै बुँदा परेका छन् । यसले भ्रमणको तयारी गर्दा केके विषयमा कुराकानी गर्ने भन्ने विषयमै पर्याप्त छलफल नभएको हो कि भन्ने देखाउँछ । नेपालले पर्यावरणको समस्या भोग्नु परेको विषय उठान गर्‍यो तर त्यसमा कतारले के सहयोग गर्न सक्छ भन्ने ठोस प्रस्ताव परेन कि भन्ने देखिएको छ । त्यस्तै नेपालमा लगानीका लागि पनि सही ढंगले विषय उठान नगरिएको हो कि भन्ने देखिन्छ ।

नेपालका लागि अहिले सबैभन्दा बढी महत्त्वको विषय भनेको नेपाली कामदारलाई सुरक्षित रूपमा कतारमा अवसर उपलब्ध गराउनु हो । सन् २००५ मा भएको श्रमसम्बन्धी सम्झौतालाई नवीकरण गर्नु हो । मलेशियाले विदेशी कामदार नलिने नीति लिएको सन्दर्भमा नयाँ श्रम गन्तव्य खोज्नैपर्ने बाध्यता नेपाललाई छ । जति नै कुरा गरे पनि नेपालमा नयाँ रोजगारी सृजना ठूलो परिमाणमा गर्न सक्ने सम्भावना देखिँदैन ।

यस्तोमा वैदेशिक रोजगारीका लागि गन्तव्य खोज्नु आवश्यक छ । विश्व कपका लागि कतारको निर्माणमा नेपाली कामदारले दिएको योगदान सम्झने अमिरले यस विषयमा पक्कै केही सकारात्मक कुरा गर्न सक्थे होलान् तर त्यसो भएको देखिएन ।

शिक्षा, कानून, युवा आदिका विषयमा गरिएका सम्झौता र समझदारी अनुपयुक्त होइनन् । त्यस्तै कानूनी सहयोग सम्बन्धी विषय पनि उपयुक्त नै हो । तर, मुख्य कुरा रोजगारी र लगानी नै हो । अहिलेको विश्वमा आर्थिक लगानी, रोजगारी र व्यापार कुनै पनि मुलुकको सम्बन्धका मुख्य आधार हुन् । कतारसँग नेपालको व्यापारघाटा भइरहेको सन्दर्भमा त्यहाँ निर्यात बढाउन कर छूटको व्यवस्था गर्न नेपालले कतारलाई राजी गराउन पहल गर्नुपथ्र्यो । तर, यी पक्षमा देखिने गरी केही पनि काम र कुरा भएको नपाइनु सरकारले आर्थिक पक्षलाई बेवास्ता गर्नु हो भन्न सकिन्छ ।

  • १३ बैशाख २०८१, बिहीबार प्रकाशित

  • Nabintech