२४ बैशाख २०८१, सोमबार

खाद्य, पोषण सुरक्षा रणनीति बनाउँदै राप्तीसोनारी
  • न्युज मानसराेवर

राप्ती सोनारी : राप्ती सोनारी गाउँपालिकाले खाद्य तथा पोषण सुरुषा रणनीति बनाउने भएको छ । त्यसको तयारीका लागि बिहीबार पालिकाले सरोकारवालाहरूसँग कार्यशाला आयोजना गरेको छ ।

कार्यशालामा बोल्दै गाउँपालिका प्रमुख तप्त बहादुर पौडेलले स्थानीय तह समयअनुसार अपडेट हुँदै जानु पर्ने बताए । ‘आफ्नो पालिकाका हरेक विषयमा हामी तथ्यांकमा अपडेट हुनुपर्छ’, उनले भने, ‘अपडेट सही तथ्यांकले भोलिका दिनमा सही रणनीति बनाउन सकिन्छ ।’
गाउँपालिका प्रमुख पौडेलले अझै पनि पालिकाले पालिबासीसँग सरोकार राख्ने धेरै ऐन, नीति, नियम र कानुन बनाउन आवश्यक रहेको बताएका छन् । ‘हामीले बनाउनु पर्ने सबै ऐन, नियम, कानुन र मापदण्ड बनायौं भने दातृ निकायहरू सँग सहयोग लिन सहज हुन्छ’, उनले भने, ‘त्यसका लागि खाद्य तथा पोषण सुरक्षा रणनीति पनि एउटा हो ।’

कार्यशालामा उपप्रमुख मनिषा सिंह थारुको संयोजकत्वमा खाद्य तथा पोषण सुरक्षा रणनीतिका लागि कार्यदल समेत गठन गरिएको थियो । फियान नेपालले त्यसका लागि सहजीकरण गर्ने भएको छ । फियानका महासचिव राम बहादुर पुनले रणनीति बनाउन क्रममा पालिकामा रहेका १५ हजार घरपरिवार मध्ये १० प्रतिशत घरहरूको सर्भेक्षण गरिने जानकारी दिए । उनले त्यसका लागि पालिकाका सम्पूर्ण विषयगत शाखा र वडा कार्यालयहरूको सहयोग आवश्यक हुने बताए ।

फियान नेपाल नेपालगन्ज संयोजक सुरेश गौतमले खाद्य तथा पोषण सुरक्षा रणनीतिका महत्व, आवश्यकता लगायतका बारेमा धारणा राखेका थिए ।

  • १४ बैशाख २०८१, शुक्रबार प्रकाशित

  • Nabintech