५ जेष्ठ २०८१, शनिबार

निर्वाचन प्रणाली बदल्न जरुरी: कोइराला
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली बदल्न जरुरी रहेको बताउनुभएको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेको दोस्रो क्षेत्रीय सम्मेलनलाई कोहलपुरमा सम्बोधन गर्दै केन्द्रीय सदस्य समेत रहनुभएका नेता कोइरालाले निर्वाचन प्रणाली बदल्न दुई ठूला दल कांग्रेस र एमाले एक ठाउँमा उभिनुपर्ने बताउनुभयो ।

उहाँले पार्टीलाई अझ सङ्गठित बनाएर उच्च मनोबलका साथ अघि बढ्न आवश्यक रहेको बताउनुभयो । आन्तरिक कमीकमजोरी हटाएर उच्च मनोबलका साथ अघि बढे काँग्रेसलाई कसैले रोक्न नसक्ने डा. कोइरालाको भनाई छ । काँग्रेसले अबका चुनाव एक्लै लड्नुपर्नेमा जोड दिँदै उहाँले चुनाव अघि हुने गठबन्धनले पार्टीलाई हित नगर्ने बताउनुभयो ।

क्षेत्रीय सभापति पोषण केसीको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रिय सदस्य दीपक गिरी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, जिल्ला सभापति नारायणप्रसाद गौडेल लगायतले सम्बोधन गर्नुभएको थियो ।

सम्मेलनमा विशिष्ट अतिथी एवम् कांग्रेस केन्द्रिय सहमहामन्त्री किशोरसिंह राठौंर, केन्द्रिय सदस्यहरु दीपक गिरी, सञ्जय गौतम, डा. गोपाल दहित, मधु आचार्य, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, जिल्ला सभापति नारायणप्रसाद गौडेल, लुम्बिनी प्रदेशका सदस्यहरु, पार्टीका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी, जिल्ला, क्षेत्र, प्रदेश सभा, स्थानीय तह र वडा तहका सभापति तथा पदाधिकारी, क्षेत्रीय प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।

सम्मेलनमा क्षेत्रीय सचिव जयश्वर पौडेलले सांगठनिक तथा कोषाध्यक्ष धु्रव आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । क्षेत्र नम्बर १ का सभापति पोषणराज केसीको सभापतित्वमा सम्पन्न सम्मेलन सञ्चालन अर्का क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले गरेका थिए । सम्मेलनमा क्षेत्र नम्बर १ अन्तरगत पर्ने कोहलपुर नगरपालिका तथा राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाबाट क्षेत्रीय प्रतिनिधिहरु सहभागी भएका थिए ।

सम्मेलनको अवसरमा नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो । यस्तै प्रेसर तथा सुगर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर पनि गरिएको थियो । आर.एम. हस्पिटल प्रा.लि. कोहलपुरले शिविर आयोजना गरेको हो ।

  • २२ बैशाख २०८१, शनिबार प्रकाशित

  • Nabintech