५ जेष्ठ २०८१, शनिबार

बाँकेमा आउने तरकारी, फलफुलमा घट्यो विषादी प्रयोग
  • न्युज मानसराेवर

बाँके: बाँके लगायत विभिन्न जिल्लामा उत्पादन गरिएका तरकारी तथा फलफूलजन्य वस्तुमा गत वर्षभन्दा यस वर्ष विषादीको मात्रा कम पाइएको छ । कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ नेपालगन्जका नायब प्राविधिक सहायक गौरव चौधरीले प्रयोगशालामा परीक्षण गरिएका तरकारी तथा फलफूलजन्य वस्तुमा गतवर्षभन्दा यस वर्ष विषादीको मात्रा कमी पाइएको बताउनुभयो ।

चौधरीका अनुसार गतवर्ष मङ्सिरदेखि असारसम्म आठ महिनाको अवधिमा विभिन्न तरकारी तथा फलफूलजन्य वस्तुको एक हजार ८५ वटा नमुना परीक्षण गर्दा १६ वटा नमुनामा कैफियत पाइएको थियो । जसमध्ये १० वटा नमुनामा (रेड लेबल) उपभोग गर्न नमिल्ने र छ वटा नमुनामा (यल्लो लेबल) पुनः परीक्षण गर्दा विषादीको मात्रा घटेको पाइएमा उपभोग गर्न मिल्ने नतिजा देखिएको थियो ।

यस वर्षको साउनदेखि वैशाख २० गतेसम्म १० महिनाको समयावधिमा प्रयोगशालामा ८४९ वटा विभिन्न तरकारी तथा फलफूलजन्य वस्तुको नमुना परीक्षण गरिएको र पाँच वटा नमुनामा कैफियत पाइएको चौधरीको भनाइ छ । उहाँका अनुसार तीन वटा नमुनामा (रेड लेबल) उपभोग गर्न नमल्निे र दुई वटा नमुनामा (यल्लो लेबल) पुनः परीक्षण गर्दा विषादीको मात्रा घटेको पाइएमा उपभोग गर्न मिल्ने नतिजा देखिएको हो ।

गत वर्ष धेरैजसो टमाटर, साग, स्कुस, फर्सी तथा काँक्राको नमुनामा विषादीको मात्रा देखिएको र यस वर्ष भाजीको सागको चार वटा नमुना र एउटा काउलीको नमुनामा विषादीको मात्रा देखिएको उहाँले बताउनुभयो ।

जसमध्ये दुई वटा भाजीको साग र एउटा काउलीको नमुनामा उपभोग गर्न नमिल्ने (रेड लेबल) र दुई वटा रायो (भाजी) को सागको नमुना पुनः परीक्षणपश्चात् विषादीको मात्रा घटेको पाइएमा उपभोग गर्न मिल्ने (यल्लो लेबल) पाइएको र अन्य फलफूल तथा तरकारीजन्य वस्तुमा विषादीको मात्रा नपाइएको चौधरीको भनाइ छ ।

उहाँका अनुसार गत वर्ष बाँकेमा उत्पादन गरिएका ५४६, दाङमा उत्पादन भएका ३७, भारतमा उत्पादन भएका ३१९, रोल्पाका छ, सुर्खेतका आठ, दैलेखका दुई, चितवनका ६५, सल्यानका ४५, बर्दियाका ५१, डडेलधुराका एक, कैलालीका तीन र रुकुमका दुई वटा नमुना प्रयोगशालामा परीक्षण गरिएको थियो ।

यस वर्ष भारतबाट आयात गरिएका २३६, बाँके जिल्लाका ३९९, सल्यानका १०४, दाङका ४०, बर्दियाका २०, दैलेखका छ, रोल्पाका आठ, जाजरकोटको एक, सुर्खेतका तीन र चितवनमा उत्पादन गरिएका ३२ वटा विभिन्न तरकारी तथा फलफूलजन्य वस्तुको परीक्षण गरिएको छ । जसमध्ये बाँकेमा उत्पादन भएका चार वटा रायो (भाजी) को सागको नमुना र सल्यानमा उत्पादन भएको काउली गरी पाँच वटा नमुनामा कैफियत पाइएको हो ।

गत वर्ष दैनिक नौदेखि १० वटासम्म नमुनाको परीक्षण गरिए पनि यस वर्ष भने परीक्षण गर्ने किटको अभावका कारण दैनिक पाँच वटासम्म मात्र नमुना परीक्षण हुँदै आएको चौधरीले बताउनुभयो ।

  • २२ बैशाख २०८१, शनिबार प्रकाशित

  • Nabintech