६ जेष्ठ २०८१, आईतवार

सेनाद्वारा नेपालगन्ज वाटरपार्कमा विपद् व्यवस्थापनसम्बन्धी पूर्वाभ्यास
  • न्युज मानसराेवर

नेपालगन्ज:नेपाली सेनाले विपद् व्यवस्थापनसम्बन्धी पूर्वाभ्यास गरेको छ । बाँकेको राँझास्थित श्री नं. ४ बाहिनी अड्डा तथा श्री बज्रदल गणको संयुक्त आयोजनामा नेपालगन्ज उपमहानगरपालिका वडा नं १ स्थित वाटरपार्कमा विपद् व्यवस्थापनसम्बन्धी सम्भावित बाढी, डुबान, खोज तथा उद्धार सम्बन्धमा सेनाले पूर्वाभ्यास गरेको हो ।

बज्रदल गणका गणपति प्रमुख सेनानी रविन श्रेष्ठले हरेक वर्ष वर्षायामको समयमा तराईका भू–भागमा आउने बाढी र डुबानका कारण ठुलो मात्रामा मानवीय एवम् भौतिक क्षति हुने गरेको हुनाले सम्भावित जोखिमबाट नागरिकलाई बचाउनका लागि पूर्वाभ्यास गरिएको बताउनुभयो ।

उहाँले निकट भविष्यमा बाँके तथा बर्दियालगायत तराईका भू–भागमा हुन सक्ने सम्भावित विपद्लाई मध्यनजर गरी नेपाली सेनामा कार्यरत सकल दर्जाहरूको विपद् प्रतिकार्य क्षमता अभिवृद्धि तथा जोखिम न्यूनीकरण र आम जनताको उद्धार कार्यका लागि तालिम दिने उद्देश्यले विपद् व्यवस्थापनसम्बन्धी पूर्वाभ्यास गरिएको बताउनुभयो ।

बाँके र बर्दिया जिल्लामा विगतको समयमा भएको बाढी र डुबान जस्ता प्राकृतिक प्रकोपमा श्री बज्रदल गणमा कार्यरत नेपाली सेनाले खोज तथा उद्धारको कार्य गरेको र आगामी दिनहरूमा आइपर्न सक्ने विपद्सम्बन्धी कार्यको लागि यस्तो अभ्यासले सहजीकरण हुने उहाँले बताउनुभयो ।

बाढी तथा डुबानबाट नागरिकलाई कसरी बचाउन सकिन्छ भन्ने बारेमा सेनाद्वारा अभ्यास गरिएको थियो । अभ्यासमा श्री नं. ४ बाहिनी अडडका बाहिनीपति सहायक रथी रोशन शमशेर राणा र श्री बज्रदल गणका गणपति प्रमुख सेनानी रविन श्रेष्ठको उपस्थिति रहेको थियो ।

  • २५ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech