६ जेष्ठ २०८१, आईतवार

लामो अवधिपछि वर्षा: लुम्बिनी प्रदेशका किसानलाई राहत
  • न्युज मानसराेवर

लुम्बिनी:आठ महिना लामो अवधिपछि वर्षा भएपछि लुम्बिनी प्रदेशका किसानलाई राहत मिलेको छ । किसानलाई मात्र होइन लामो समयपछि परेको पानीले प्रदेशका विभिन्न स्थानमा लागेको आगलागी कम हुनेभएको छ भने जताततै उडेको धुलो कम भएर प्रदूषण कम हुनेछ ।

लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली प्रभावित भएपछि निराश भएका किसान लुम्बिनीका केही पहाडी जिल्लामा सोमबार दिउँसोदेखि र तराईका जिल्लामा मङ्गलवार बिहानैदेखि वर्षा भएपछि हर्षित बनेका छन् ।पहाडी क्षेत्रमा मुख्य खेती मानिएको मकै लगाउन सबै तयारी गरेर बसेका किसानलाई यसले राहत दिएको छ । खेतबारीमा लगाएको गहुँ, तोरी, आलु फापर, जौ, तरकारीको उत्पादन न्यून हुँदा निराश बनेका किसान बर्खेबाली लगाउन पाउने भएपछि हर्षित बनेका छन् ।

वर्षा नहुँदा खेतबारीमा लगाएका मकै सुक्न थालेका थिए भने कोदो र धानको बीउ समेत उम्रिन पाएको थिएन । सिँचाइको सुविधा भएका ठाउँका किसानभन्दा सिँचाइको सुविधा नभएका ठाउँका किसानलाई ठूलो राहत मिलेको विभिन्न जिल्लाका कृषि ज्ञान केन्द्रले जनाएका छन् । वर्षा भएपछि किसानलाई खेतबारी जोतखन गर्ने र बर्खे बाली लगाउन सहज भएको छ । वर्षा भएपछि सिँचाई भएका क्षेत्रमा मकै लगाएका किसान मकै गोडमेल गर्न व्यस्त हुन थालेका छन् भने अन्य स्थानमा मकै लगाउन तयारी थालेका छन् । यस क्षेत्रमा असोज पहिलो साता परेको वर्षापछि पानी नपर्दा पानी नलाग्ने क्षेत्रका किसान हैरानीमा परेका थिए ।

पानी लाग्ने क्षेत्रमा पनि लामो समय परेको खडेरीले सबै मूल सुकेर समस्या परेको थियो । असोजमा पानी परेयता अहिलेसम्म वर्षा नभएका कारण सिँचाइको सुविधा नभएका ठाउँमा गरिएको गहुँ, आलु, जौ, फापरलगायतको खेती भने राम्रोसँग फस्टाउन नपाएको लुम्बिनी प्रदेश कृषि मन्त्रालयका सूचना अधिकारी युवराज ढकालले बताउनुभयो । उहाँका अनुसार पहाडी क्षेत्रमा अलिक पानी परेपनि तराईको क्षेत्रमा अझै राम्रोसँग पानी परेको छैन । अहिलेको पानीले पहाडी जिल्लामा मकै लगाउन सहज भएको तर तराईमा अझै पर्याप्त नभएको ढकालको भनाइ छ ।

यसवर्ष खेतमा मकै लगाउन ढिला भएकाले अधिकांश किसानले बाँझै राखेको छन्  । ढिलोगरी वर्षा भए पनि बारीमा मकै लगाउन, लहरे बालीलगायत विभिन्न तरकारी र बर्खे आलु लगाउन भने सहज भएको किसानको भनाइ छ । कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धि घिमिरेका अनुसार पानी परेपछि किसानलाई धेरै राहत भएको छ । उहाँका अनुसार खडेरीका कारण हिउँदे खेती उत्पादनमा ४० प्रतिशतभन्दा बढीले कमी आएको छ ।

सबैभन्दा बढी तेलहन र गहुँ बाली प्रभावित भएको छ । त्यसबाहेक फापर, जौ, आलुलगायत मौसमी तथा बेमौसमी तरकारी बाली समेत प्रभावित बनेको थियो ।

  • २५ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech