१२ श्रावण २०८१, शनिबार

अनुहारको पोतो हटाउने घरेलु विधि
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:अनुहारमा चाया अथवा पोतो आउनु सबैभन्दा बढी पिरलो मानिन्छ। अनुहारमा आएको कालो दागलाई सामान्य भाषामा चाया वा पोतो भनिन्छ। यो समस्या महिला र पुरुष दुवैमा देखिन सक्छ। विभिन्‍न कारणले अनुहारमा चाया वा पोतो आउन सक्छ। घामको किरणको असर तथा भिटामिन सीको कमीले पनि चाया-पोतो आउने गर्छ। जसले भिटामिन सीको पर्याप्त मात्रामा सेवन गर्छन्, उनीहरूलाई चाया-पोतोले सताउन सक्दैन।

कतिपय अवस्थामा भने पेटमा भएको खराबीले पनि अनुहारमा चाया आउने गर्छ। त्यसैले, पानी एकदमै धेरै पिउनुपर्छ। बिहान खाली पेटमा पानी पिउनु अझ फाइदाजनक छ। साथै, पेटको समस्या समाधान गर्न डाक्टरसँग सल्लाह लिन सकिन्छ।

घामको किरणबाट आउने समस्याका कारण अनुहारमा आएको चाया हटाउन घरेलु उपाय अपनाउन सकिन्छ। यी उपाय अपनाउन सके अनुहारको चाया हट्नुका साथै अनुहारमा कान्ति छाउँछ।

घरेलु विधि

 सफा हुने गरी मुख धुने। घिउकुमारी अनुहारमा लगाएर १०-१५ मिनट राख्‍ने। सुकेपछि हात भिजाएर विस्तारै मसाज गर्ने। करिब पाँच मिनट मसाज गरेपछि सफा चिसोपानीले पखाल्ने। यो दैनिक दुईपटक गर्नुपर्छ। यसले अनुहारको चाया हटाउन मद्दत मिल्छ।

 अनुहार मज्जाले धुने वा क्लिन्जिङ गर्ने। पुदिनाको पेस्टमा घरेलु रक्सी अथवा रम दुई वा तीन थोपा राखेर घोल्ने। उक्त पेस्टलाई चाया आएको ठाउँमा प्याक लगाउने। १०-१५ मिनट राखेपछि सफा चिसोपानीले पखालेमा चाया हराउँछ।

 स्किन ओइली छ भने बेसार र कागतीको रसको पेस्ट प्याक बनाएर अनुहारमा लगाउन सकिन्छ। तर, स्किन ड्राई छ भने यो नगर्नु ठीक हुन्छ।

 दैनिक तीनपटक सफा पानीले अनुहार धोएर सनस्क्रिन क्रिम लगाएमा घामबाट जोगिन सकिन्छ। गोरो छालामा चाया-पोतो आउने सम्भावना बढी हुन्छ। यसर्थ, गोरो छाला भएकाहरू घामबाट जोगिनुपर्छ। बाहिर निस्किनुअघि पेग्मेन्टेसन क्रिम लगाएपछि मात्र अन्य क्रिम लगाउनुपर्छ।

 यसरी घरेलु उपचारबाट अनुहारमा आएको चाया-पोतो साइड इफेक्टबिनै हटाउन सकिन्छ। उपचारले मात्र चाया-पोतो हट्न असम्भव हुन सक्छ। यसर्थ, सकेसम्म तनाव व्यवस्थापन गर्नुपर्छ।

यस्तै, घामबाट बच्‍न तथा पानी धेरै पिउन जरुरी छ। त्यसैगरी, ताजा फलफूल, सागसब्जी र सन्तुलित खानाका साथै व्यायाम र सकारात्मक सोच पनि राख्‍नुपर्छ।

  • २३ जेष्ठ २०८१, बुधबार प्रकाशित

  • Nabintech