१२ श्रावण २०८१, शनिबार

वातावरण संरक्षणका लागि बाँकेमा तीन लाख बिरुवा

कोहलपुर, सम्शेरगन्ज, मेहमानपुर, सिक्टा डिभिजनमा रहेको नर्सरीमा बिरुवा हुर्काईदै

  • न्युज मानसराेवर

कोहलपुर,बाँके:वातावरण संरक्षणका लागि डिभिजन वन कार्यालयले प्रत्येक बर्ष ठूलो परिणाममा बिरुवा उत्पादन गरी वितरण गर्दै आएको छ । बिरुवा उत्पादन गरी वितरण तथा आफैले वृक्षारोपण गर्दै आएको डिभिजन वन कार्यालयले माग अनुरूप विरुवा भने वितरण गर्न सकेको छैन ।

‘बिरुवाको माग बढ्दो छ, हामीले माग अनुसार बिरुवा दिन सकेका छैनौं’, डिभिजन वन कार्यालय नेपालगन्जका सूचना अधिकारी वीरेन्द्र रोकाले भने, ‘यस बर्ष तीन लाख बिरुवा उत्पादन भएको छ, तर त्यो अपर्याप्त हो ।’ उनले बिरुवा रोप्नु पर्छ भन्ने सचेतना बढेका कारण बिरुवाको माग बढ्दै गएको बताए । ‘वातावरण संरक्षणका लागि बोट, बिरुवा लगाउनु निकै राम्रो हो, त्यो सचेतना बढेको पाएका छौं’, उनले भने ।

डिभिजन वन कार्यालयले विभिन्न कार्यक्रम, किसानको माग तथा सामुदायिक वन, राष्ट्रिय वनमा वृक्षारोपणका लागि बिरुवा वितरण गर्दै आएको छ । ‘हामीले बिरुवा वितरणका लागि सूचना प्रकाशित गरी माग गर्छौ र वितरण गर्छौं’, डिभिजन वन कार्यालय नेपालगन्जका सूचना अधिकारी रोका भन्छन्, ‘प्राथमिकता तथा वनलाई दिने गरेका छौं ।’

ठूलो परिणाममा वृक्षारोपण गर्दा त्यसको संरक्षण र हुर्कने वातावरण पनि हुनुपर्ने भएकाले असारमा बिरुवा वितरण हुने गरेको वनका सूचना अधिकारी रोका बताउँछन् । डिभिजन वन कार्यालय नेपालगन्ज, सव डिभिजन वन कार्यालय कोहलपुर, सम्शेरगन्ज, मेहमानपुर, सिक्टा डिभिजनमा रहेको नर्सरीमा बिरुवा हुर्काइने गरेको डिभिजन वन कार्यालयले जानकारी दिएका छन् ।

डिभिजन वन कार्यालयले नरैनापुर र ढकेरीमा पनि नर्सरी स्थापनाका लागि टेण्डर भएर काम भैरहेको छ । ‘नर्सरीको निर्माण पूरा भएपछि बिरुवा उत्पादन बढ्छ’, सूचना अधिकारी रोकाले भने ।

  • २३ जेष्ठ २०८१, बुधबार प्रकाशित

  • Nabintech