रुपन्देही :अर्घाखाँचीको शितगंगा नगरपालिकामा छहरे खोलाले बगाउँदा दुई जना युवाको मृत्यु भएको छ । शितगंगा नगरपालिका–१३, सिमलपानीको बीचमा पर्ने छहरामा फोटो खिच्नेक्रममा उनीहरुलाई एक्कासी बढेर आएको खोलाले बगाएको थियो ।
कपिलवस्तुको बाणगंगा–२ का २३ वर्षीय किशोर रास्कोटी र सोही ठाउँका २९ वर्षीय उमेश पौडेललाई खोलाले बगाउँदा बेपत्ता भएका थिए । खोजतलास गर्ने क्रममा उमेशको शव झरना भन्दा पाँचसय मिटर तल खोलामा डुबिरहेको अवस्थामा फेला परेको छ । वेपत्ता किशोरको पनि मृतअवस्थामा शव भेटिएको हो ।
मंगलबार दिउँसो घुम्न निस्किएका चार जना झरनामा फोटो खिचाउन पुगेका थिए । झरनाले चारै जनालाई बगाएको भएपनि दुई जना पौडिएर बाँच्न सफल भएका थिए ।
दुवैजनाको शव खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विपिन कार्कीले बताए। पौडेलको ५ सय मिटर र रास्कोटीको १ किमि पर शव भेटिएको थियो ।