२१ मंसिर २०८१, शुक्रबार

बाँकेका कृषकहरु आधुनिक थ्रेसर मेसिनतर्फ आकर्षित
  • न्युज मानसराेवर

बाँके:बाँकेका कृषकहरु आधुनिक थ्रेसर मेसिनतर्फ आकर्षित हुन थालेका छन् । गाउँघरमा खेतालाले खर्च पनि बढी हुने र काम गर्ने मान्छेको
अभाव हुन थालेपछि जिल्लाको किसान आधुनिक थ्रेसर मेसिनतर्फ आकर्षित हुन थालेका हुन् ।
जिल्लामा अधिकांश ठाउँमा अहिले धान पाकेर पनि थन्क्याई सकिएको छ । अहिले किसानले दाइँका लागि थ्रेसर मेसिनको प्रयोग गरेका हुन् । गाउँघरमा पछिल्लो समय जनशक्तिको अभाव भएसँगै बाँकेका किसान थ्रेसर मेसिनतर्फ आकर्षित हुँदै गएका हुन् ।
बाँकेको डुडुवा –६ बल्दीपुर्वा बस्ने किसान गुरुदीन यादवले गाउँमा काम गर्ने मान्छे पाउन मुस्किल रहेको बताए । पाइएका खेतालाको खर्च पनि महँगो छ । उनले भने, ‘थ्रेसर मेसिनबाट काम गर्दा काम पनि छिटो हुन्छ । पैसा पनि कम पर्छ । त्यसैले खेती थन्क्याउन थ्रेसर मेसिनकै भर पर्ने गरेका छौं ।’
त्यस्तै, डुडुवा–६ भंघोटनाका कृषक जयपाल मौर्यले थ्रेसर मेसिनले किसानलाई निकै सहज बनाएको बताए । हलगोरु पाइन छाडे, जनशक्ति छैन कामदारको अभाव छ’ उनले भने, ‘यहीबेला मेसिन भित्रियो । सानोखाले भएकाले जताततै लान पनि सजिलो छ ।’
थ्रेसर मेसिन सञ्चालक लल्लन प्रसाद पाण्डेले थ्रेसर मेसिनले काम गर्दा पैसा र समयको बचत हुने बताए । उनले थ्रेसर मेसिनबाट धान दाइँ गरेवापत १ क्विन्टलमा १० किलो धान लिने गरिएको बताए । बाँकेका किसानमा थ्रेसर मेसिनप्रति निकै नै आकर्षण रहेको उनले बताए ।
आधुनिक प्रविधिको विकासले किसानलाई सजिलो बनाए पनि मौलिक दाइँ संस्कृतिलाई पनि जोगाउनु उत्तिकै आवश्यक रहेको कृषक विपत धोबीले बताए । जिल्लाको आठवटै स्थानीय तहका किसानले थ्रेसर मेसिनबाट धान पराल छुट्याउने गरेका छन् ।

  • ६ मंसिर २०८१, बिहीबार प्रकाशित

  • Nabintech