नेपालगन्ज: नेपालगन्ज भन्सार कार्यालयको जमुनाह नाकामा राखिएको ‘लगेज स्क्यानर मेसिन’ गत ६ वर्षदेखि बिग्रिएर थन्किए पनि हालसम्म मर्मतसम्भार नहुँदा मालसामान चेकजाँचमा समस्या भइरहेको छ । जमुनाह नाकामा रहेको यात्रु आगमन कक्षमा राखिएको ‘लगेज स्क्यानर मेसिन’ सञ्चालन नहुँदा मालसमान जाँचपासमा समस्या भएको हो ।
भन्सार परीक्षणलाई पारदर्शी र छिटोछरितो बनाउनका लागि नाकामा राखिएको ‘लगेज स्क्यानर मेसिन’ बिग्रिएर थन्किएपछि भन्सार कर्मचारीले हातैले मालसामान छामेर जाँच गर्नुपर्ने बाध्यता रहेको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिनुभयो ।
उहाँका अनुसार अन्तर्राष्ट्रिय सीमानाकाको संवेदनशीलतालाई बुझेर भन्सार परीक्षणलाई पारदर्शी, सरल तथा सहजताका लागि भन्सार विभागले २०७४ सालमा नेपालगन्ज भन्सार कार्यालयलाई लगेज स्क्यानर मेसिन खरिद गरी पठाएको थियो ।
नेपालगन्ज भन्सार कार्यालयका अनुसार उक्त मेसिन जमुनाह नाकास्थित भन्सार कार्यालयको यात्रु आगमन कक्षमा लगेर राखेको दुई वर्षपछि बिग्रिएकोमा हालसम्म पनि मर्मत गरिएको छैन ।
दैनिक हजारौँ सर्वसाधारण यात्रु नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ पैदल आउजाउ गर्ने उक्त नाकामा मेसिन बिग्रिँदा भन्सार कर्मचारी र सुरक्षाकर्मीले सामान हातैले छामछुम पार्दै जाँच गर्ने गरेका छन् ।
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले बिग्रेको स्क्यानर मेसिनलाई मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन कठिन भएकाले नयाँ मेसिन खरिद गर्नुपर्ने र सोभन्दा अघि उक्त मेसिनका लागि आवश्यक भवनदेखि जग्गा र प्राविधिकको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
पुरानो मेसिन मर्मतमा धेरै बजेट लाग्ने भएकाले नयाँ स्क्यानर मेसिन खरिद र यात्रु कक्ष सुधारका लागि भन्सार विभागमा जानकारी गराएको उहाँको भनाइ छ । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले लगेज स्क्यानर मेसिन बिग्रिएको छ वर्षसम्म पनि मर्मतसम्भार वा नयाँ खरिद गर्न नसक्नु सम्बन्धित निकायको बेवास्ता र लापर्बाही भएको बताउनुभयो ।
लगेज स्क्यानर मेसिन सञ्चालन नहुँदा सामान जाँचमा बढी समय लाग्दा गन्तव्यमा छिट्टै पुग्नुपर्ने बाध्यतामा रहेका यात्रुले पनि झन्झट बेहोर्नु परिरहेको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले बताउनुभयो ।