बाँके\केही दिनअघि २१ दिने प्रहरी हिरासतबाट रिहा भएका राणाले भारत प्रस्थान अघि सामाजिक सन्जालमा भावुक सन्देश जारी गर्दै हिरासतमा रहेका आफ्ना सहकर्मीहरूको अविलम्ब रिहाइको माग गरेका छन्।
“जय राष्ट्रवाद, नमस्कार,” भनी सुरु गरिएको सन्देशमा उनले हिरासतको समयमा साथ र समर्थन गर्ने सम्पूर्ण शुभेच्छुक, नेता, कार्यकर्ता, मानव अधिकारकर्मी र नागरिक समाजप्रति आभार प्रकट गरेका छन्।
‘यो आस्था र विचारको लामो लडाइँ हो,’ भन्दै उनले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रसहित अन्य नेताहरू अझै हिरासतमा रहेको उल्लेख गर्दै तत्काल बिना सर्त रिहाइको माग गरेका छन्।उपचारको सिलसिलामा भारत जान लागेको जानकारी दिँदै राणाले उपचारपछि फर्किएर अझ दृढतापूर्वक आन्दोलन अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
उनको भनाइमा, ‘राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, सुशासन, धर्म, संस्कृति, पहिचानको रक्षा र आर्थिक समृद्धिको निम्ति अब सम्पूर्ण राष्ट्रवादी, हिन्दूवादी, राजावादी, प्रजातन्त्रवादी र परिवर्तन पक्षधरहरू एक ठाउँमा उभिनुपर्छ।’
सन्देशमा डा. राणाले आन्दोलनलाई अझ प्रभावकारी बनाउने सन्देश दिँदै व्यक्तिगत आकांक्षा, कुण्ठा र संकीर्णताबाट माथि उठ्न सबै पक्षलाई आग्रह गरेका छन्। ‘व्यक्ति गौण कुरा हो, एजेन्डा महत्त्वपूर्ण विषय हो,’ भन्दै उनी अब विचार र मूल्यको पक्षमा एकता अपरिहार्य रहेको बताउँछन्।
राणाले शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै भने, ‘भगवानको कृपा र तपाईंहरूको शुभेच्छाले चाँडै निको भएर फर्किने छु। फर्किएपछि तपाईंहरूसँगै मोर्चामा लामबद्ध हुनेछु।उनको भारत यात्रा उपचारको फलोअप प्रक्रिया अन्तर्गत भएको जनाइएको छ। बाँकेबाट प्रतिनिधि सभा सदस्य निर्वाचित राणा दाँतको गिँजामा क्यान्सरको समस्या देखिएपछि केही वर्षयता नियमित उपचारका क्रममा छन् ।