बाँके\नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले बुटवल र नेपालगञ्जमा पार्टी कार्यकर्तालाई वैचारिक रुपमा स्पष्ट गर्न स्थायी रुपले स्कुल सञ्चालन गर्ने भएको छ ।प्रदेश पार्टी स्कूल विभागद्वारा आयोजित पार्टी सञ्चालनसम्वन्धी दुई दिने कार्यशाला गोष्ठीले सो सम्वन्धी निर्णय गरेको हो ।
आगामी साउन ७ गते पुष्पलाल जन्मजयन्तीको अवसर पारेर औपचारिक प्रारम्भ गरिने कुराको घोषणा पार्टीका प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले गरेका छन् ।पार्टीका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले स्कुलका लागि तीन तहको स्कुल र चार तहको पाठ्यक्रम बनाइएको जानकारी दिँदै जिल्ला कमिटीले आधारभूत तह, प्रदेशले माध्यमिक तह र केन्द्रले उच्च तहको प्रशिक्षण दिने गरी तयारी गरिएको बताए । यसवाहेक पनि अध्ययन, अनुसन्धान र नीतिसम्वन्धी पनि प्रशिक्षणको व्यवस्था गरिएको छ ।
पार्टीले अबदेखि आधारभूत तहको प्रशिक्षण नलिएको कार्यकर्ता कुनै पनि राजकीय पदमा प्रतिस्पर्धा गर्न नपाउने व्यवस्था गरिएको प्रचार विभागका प्रमुख डिआर घिमिरेले जनाएका छन् ।कार्यशाला गोष्ठीको दोश्रो दिन छ वटा समूह बनाई वैचारिक/राजनैतिक कामको अवस्था र समस्या, यसमा पार्टी स्कूलको भूमिका, वैचारिक÷राजनैतिक काममा तय भएका पाठ्यक्रमहरुको उपयोगिता, पार्टी स्कूलमार्फत नियमित स्कूल/प्रशिक्षण कार्यक्रम संचालन गर्न के गर्न पर्ला, कमिटी र कार्यकर्ताको कार्यशैली, जीवनशैली र आचरण सुधार्न कस्तो शिक्षाको आवश्यकता तथा नियमित पार्टी स्कूल÷प्रशिक्षण कार्यक्रम संचालनका लागि आवश्यक योजना निर्माण, समन्वय र सहयोगका लागि सम्बिन्धत पार्टी कमिटीको भूमिकाजस्ता विषयमा ठोस र मूर्त रुपले छलफल गरी समूहगत सुझाव प्राप्त भएका छन् ।
केन्द्रीय स्कुल विभागका सचिव घनश्याम कोइराला, सदस्यहरु रामशरण प्याकुरेल र बद्री खनालले सहजीकरण गरेका थिए । कार्यशालाको प्रतिवेदन तयार गर्न गठित स्टेरिङ् कमिटीको तर्फबाट डीआर घिमिरेले १५ दिनभित्र सम्पूर्ण विवरण र आवश्यक सुझावसहितको प्रतिवेदन वुझाइने प्रतिवद्वता व्यक्त गरेका छन् ।उक्त कमिटीमा दलवहादुर गुरुङ, युवराज घिमिरे, कल्पना थापालगायत ५ जना छन् । कार्यक्रमको समापनका अवसरमा प्रदेश स्कुल विभाग प्रमुख भोजप्रसाद श्रेष्ठले रुपन्देही र वाँके जिल्लाबाट विशेष प्रतिवद्वता लिदै अवका दिनमा स्कुललाई व्यवस्थित गरिने जानकारी दिए ।