बाँके\बाँकेको बैजनाथ गाउँपालिका–१ स्थित च्यामा गाउँलाई औपचारिक रूपमा ‘नमुना थारु गाउँ’ घोषणा गरिएको छ । थारु समुदायको मौलिक भाषा, संस्कृति, परम्परा तथा जीवनशैलीको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यसहित च्यामा गाउँलाई बुधबार ‘नमुना थारु गाउँ’ घोषणा गरिएको हो ।
च्यामा गाउँले नमुना थारु गाउँका लागि आवश्यक मापदण्ड पूरा गरेपछि औपचारिक रूपमा घोषणा गरिएको गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले बताए । उनका अनुसार थारु समुदायको मौलिक पहिचान जोगाउँदै पर्यटन विकास, रोजगारी सिर्जना तथा आर्थिक समृद्धिमा टेवा पुर्याउने लक्ष्यसहित गाउँलाई नमुना थारु गाउँ घोषणा गरिएको हो ।










