कोहलपुर \बाँकेको कोहलपुरस्थित एनटिभी रोडमा बुधबार कार र मोटरसाइकल एकापसमा ठोक्किएर विद्युत्को पोलमा ठोक्किँदा दुवै सवारी साधनमा आगलागी भएको छ ।
दुर्घटनामा परेर मोटरसाइकल चालक गोविन्द उपाध्याय घाइते हुनुभएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । भीषण गर्मीका समयमा गुडिरहेका इभी (विद्युतीय) कार र मोटरसाइकल ठोक्किँदा दुवै सवारी साधनमा आगो सल्किएको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार आगलागीबाट मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने कारको अगाडिको अधिकांश भाग जलेर नष्ट भएको छ । घाइते मोटरसाइकल चालक उपाध्यायको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको र उहाँको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।










