बाँके\ लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ का लागि प्रस्तुत गरेको बजेटमाथि सैद्धान्तिक छलफल गर्न आज आइतबार प्रदेश सभाको बैठक बस्दैछ ।प्रदेश सभाको बैठक दिउँसो १ बजे बस्ने तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ । बजेटका विषयमा सत्तारूढ दलकै सांसदहरूले आपत्ति जनाएपछि असार १ गते आएको बजेटमाथि अहिलेसम्म छलफल हुन सकेको छैन ।
सरकारले प्रस्तुत गरेको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि प्रदेश सभा सदस्यहरूले असन्तुष्टि जनाएपछि यसअघि बैठक नियमित रूपमा सञ्चालन हुन सकेको थिएन । बजेटको वितरण, योजना छनोट तथा स्रोत बाँडफाँटप्रति सत्तापक्षकै केही सांसदले असन्तुष्टि व्यक्त गरेपछि बजेटमाथिको छलफल प्रभावित बनेको थियो । विभिन्न चरणको आन्तरिक छलफल र सहमतिपछि आजको बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफल अघि बढाउन थालिएको हो ।
प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा प्रदेश सभा सदस्यहरूले राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफलमा भाग लिनेछन् ।










