कोहलपुर । कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को सामाजिक परीक्षणको प्रारम्भिक प्रतिवेदनमाथि छलफल गरेको छ। कोहलपुर नगरपालिकाको आर्थिक सहयोग तथा उत्पीडित सामुदायिक विकास केन्द्र (OCDC) को सहजीकरणमा आयोजित कार्यक्रममा सामाजिक परीक्षणको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरिएको हो।
प्रतिवेदनमा नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा कार्यान्वयन गरेका नीति, कार्यक्रम, बजेट, आयोजना तथा कार्यान्वयन हुन नसकेका विषयहरूको समग्र समीक्षा प्रस्तुत गरिएको थियो। कार्यक्रममा आफ्नो धारणा राख्दै सामाजिक विकास समिति संयोजक ईश्वरी विक ले आगामी दिनमा निर्माण गरिने नीति, योजना तथा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सामाजिक परीक्षणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी ले जनप्रतिनिधि र कर्मचारीद्वारा कार्यान्वयन गरिएका नीति, कार्यक्रम, बजेट तथा आयोजनाले आम नागरिकका अपेक्षालाई कत्तिको सम्बोधन गरेका छन् भन्ने विषयमा सामाजिक परीक्षणले वस्तुनिष्ठ समीक्षा गर्ने बताउनुभयो।

उहाँले सामाजिक परीक्षणले जनता, जनप्रतिनिधि, नीति, बजेट र कार्यान्वयनबीच रहेका सम्भावित कमी–कमजोरी तथा सुधार गर्नुपर्ने पक्षहरू पनि उजागर गर्ने अपेक्षा व्यक्त गर्नुभयो। कार्यक्रमको अध्यक्षता कोहलपुर नगरपालिका वडा नं. १० का ज्येष्ठ वडा अध्यक्ष गौरा अधिकारी भट्टराई ले गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण बसन्तकुमार विसी ले गर्नुभएको थियो।










